कर्णाली प्रदेश सरकारको बजेट खर्च निराशाजनक

पंखबहादुर शाही ।
सुर्खेत, १६ माघ (जागरण) । कर्णाली प्रदेश सरकारले दुई बजेट पेश गरिसके पनि बजेटमा विनियोजित रकमको प्रभावकारी खर्च गर्न भने असफल देखिएको छ ।
चालू आर्थिक वर्ष प्रदेश सरकारका लागि बजेट निर्माण र कार्यान्वयनका हिसाबले दोस्रो वर्ष हो । दोस्रो वर्षमा पनि प्रदेश सरकारहरू बजेट कार्यान्वयनमा कमजोर देखिएको छ ।
चालु आर्थिक बर्षको पहिलो चौमासिकमा १ दशमलव ६१ प्रतिशत मात्र बजेट खर्च गर्न सफल भएको प्रदेश सरकारले पुस मसान्तसम्म ५ दशमलव ७० प्रतिशत मात्र खर्च गरेको छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालयले दिएको जानकारीअनुसार पँुजिगत खर्चको अबस्था निराशाजनक देखिएको छ । चालु तर्फ ८ दशमलव ६३ प्रतिशत रकम खर्च गरेको प्रदेश सरकारले पुँजिगत तर्फ जम्मा ३ दशमलव ३० प्रतिशत मात्र खर्च गरेको छ ।
जम्मा ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार बजेट विनियोजन गरेकोमध्ये हाल सम्मको खर्च हेर्दा १ अर्ब ९५ करोड ९४ लाख ६७ हजार ४ सय रकम खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयका सुचना अधिकारी यमुना श्रेष्ठले बताउनुभयो । उहाँले पुँजिगत बजेटअन्तर्गत काम भइरहेकोले भौतिक प्रगती भएपनि वित्तिय प्रगती नभएकाले कम देखिएको बताउनुभयो ।
दक्ष कर्मचारी तथा प्राविधिक अभाव, कानून तथा योजना कार्यान्वयन गर्ने इकाई तल्लो तहसम्म स्थापना नभएका कारण पनि बजेट खर्च प्रभावकारी हुन नसकेको प्रदेश सरकारले जनाएको छ ।