काठमाण्डौँ, १७ माघ (एजेन्सी) । चीनबाट सुरु भएको काेराेना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलन थालेपछि काेराेनालाई लिएर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ ।
डब्लयूएचओकाे आपतकालीन बैठकले विश्व स्वास्थ्य आपतकालीन अवस्थाकाे घाेषणा गरेको हाे । कोरोना भाइरसका कारण चीनमा अहिलेसम्म २ सय १३ जनाकाे मृत्यु भइसकेको छ ।
चीन बाहिर १८ देशका ९८ जनामा सङ्क्रमण भएको पुष्टि भैसकेको डब्ल्यूएचओले जनाएको छ । धेरैजसो सङ्क्रमण चीनको वुहान शहरबाट बाहिर गएकाहरुमा देखिए पनि जर्मनी, जापान, भियतनाम र अमेरिकामा मान्छेबाट मान्छेमा सरेर सङ्क्रमण भएका आठ वटा घटना देखिएकोले बढी सचेतना आवश्यक रहेको बताइएकाे छ ।
चीनको वुहान शहरमा पुष्टि भएका ४ हजार २ सय २५ जनामा गरिएको अध्ययनअनुसार सङ्क्रमण हुनेको औसत उमेर ५९ वर्ष रहेको छ भने ८९ प्रतिशत मानिस सङ्क्रमण भएको कम्तीमा पाँच दिनपछि मात्र अस्पताल गएका छन् । सङ्क्रमण हुनेमध्ये ५६ प्रतिशत पुरुष थिए ।
५५ प्रतिशत सङ्क्रमण समुद्री खानाबाट आएको थियो । डब्ल्यूएचओले यसअघि सन् २००९ मा स्वाइनफ्लु, सन् २०१४ मा पोलियो, सन् २०१६ मा जिका, तथा सन् २०१४ र सन् २०१९ मा इबोला सङ्क्रमण गरी पाँच पटक विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।
के हो कोरोना ?
यो भाइरस जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो यो । यो भाइरस गत डिसेम्बरमा पत्ता लागेको थियो । कोरोना भाइरस विभिन्न प्रकारका छन् । यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो । अहिले भने त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो । यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरु कोरोना भाइरस भन्दा तिब्र एवं धेरै छ । स्वास्थ्य विशेषज्ञहरुले यो निकै भयानक रहेको बताइरहेका छन् ।
के हो लक्षण ?
जाडोको मौसममा रुघाखोकी लाग्नु सामान्य मानिन्छ । तर कोरोना भाइरसले संक्रमण गरिसकेपछि पनि रुघाखोकी कै जस्तो लक्षण हुन्छ । त्यसैले यसबाट कतिपय झुक्किन सक्छन् । रुघाखोकीसँगै क्रमश उच्च ज्वरो आउँछ, टाउको दुख्छ, सास फेर्न गाह्रो हुन्छ । यसको डरलाग्दो पक्ष के भने, यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ । यसरी सर्दैसर्दै मान्छेसम्म पुग्ने स्वास्थ्यकर्मीको भनाई छ ।
कसरी बच्ने ?
कोरोना भाइरसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने गर्ने हो भने बच्न सकिने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।