पैदल यात्रु नै गर्दैनन् ट्राफिक नियमको पालना

सुर्खेत, २० माघ (जागरण) । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा जनघनत्व बढिरहेको छ । कामका लागि वा बसाइसाराई गरेर आउँदा वीरेन्द्रनगरमा जनघनत्व बढेको हो । स्वभाविक रुपमा जनघनत्व बढेसँगै सवारीसाधनको संख्या पनि बढेको छ ।
सवारी साधन गुड्ने ठाउँमा ट्राफिक प्रहरीले पैदलयात्री र सवारी चालकलाई लक्षित गरी विभिन्न प्रकारका चिन्हहरु राखेको हुन्छ । तर यस बारेमा सवै नागरिकहरु जानकार छैनन् भने भएकाहरु पनि उल्लघंन गर्न उद्दत् रहेको पाइएको छ ।
खासगरी वीरेन्द्रनगरको चार लाइन सडकमा रहेका जेब्राक्रसिङ्गको प्रयोग पैदलयात्रुले नगरेको देखिन्छ भने विभिन्न चौकहरुमा सवारी चलकहरुले समेत ट्राफिक नियमको उल्लघंन गरेको पाइएको छ ।
दुईतर्फी यात्राका लागि दुई–दुई लाइनमा सवारी चल्ने भए पनि यसको समेत प्रयोग राम्ररी हुन सकेको छैन ।
ट्राफिक नियमको पालना धेरैजसो नागरिकबाट नहुदा दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
अहिले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको धुलियाबिटदेखि बाङ्गेसिमलसम्म सडक विभागले जेब्राक्रसिङ बनाएको भए पनि यस बारे नागरिकहरुलाई जानकारी नहुँदा दुर्घटना बढेको हो ।
वीरेन्द्रनगर भित्रका मंगलगढी चौक, यरीचौक, गणेश चौक लगायतका ठाउँमा जेब्राक्रसिङ बनाए सवारी नागरिकमात्र नभई सवारी चालकहरुले समेत ज्ञान लिन नसक्दा दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यलय सुर्खेतका प्रमुख उदय सिजापतिले बताउनुभयो ।
यस बारेमा आफुहरुले जनचेतनामुलक कार्यक्रमहरु संचालन गरेको भएपनि सबैकँहा यसबारे जानकारी पु¥याउन नसकिएको उहाँले बताउनुभयो ।
उहाँले पछिल्लो समय सुर्खेतमा दुर्घटनाको दर बढेको भन्दै टिप्पर चालक र ट्रयाक्टर चालकहरुलाई अनुुुुशिक्षण कक्षा संचालन गर्ने तयारी गरिएको बताउनुभयो ।
पछिल्लो समय कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सवारी दुर्घटनाको दर बढ्दै गएको छ । केहिदिन अघिमात्र सवारी दुर्घटनामा परि दुइजनाको मृत्यु भएको थियो ।
त्यसको विरुद्धमा आन्दोलन हुँदा केहि व्यक्ती घाईते भएका थिए भने राजधानी सुर्खेत तनावग्रस्त बनेको थियो ।