सल्यानमा सचेतनामूलक स्टिकर टाँसिदै

बुद्धी पुन ।
सल्यान, २४ माघ (रेडियो राप्ती) । अपराधिक घटना कम गराउन सल्यान जिल्लाभर सचेतनामुलक स्टिकर टाँस्ने अभियानको शुरुवात भएको छ ।
सल्यानका १० वटै स्थानीय तहहरुको सहयोगमा जिल्ला प्रहरी कार्यालय सल्यानले घर–घरमा स्टिकर टाँस्ने अभियानको शुरुवात गरेको हो ।
समुदाय प्रहरी साझेदारी अन्र्तगत गत पुस २ गते जिल्लाको छत्रेश्वरी गाउँपालिकाबाट शुरुवात गरिएको अभियान अन्र्तगत आजदेखि कुमाख गाउँपालिकामा पनि स्टिकर टाँस्न थालिएको छ ।
खासगरी सामाजिक अपराध कम गराउन सन्देशमूलक स्टिकर टाँस्ने अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
मानवीय सचेतनाको माध्यमबाट संस्कारयुक्त समाज विकास गर्ने लक्ष्यका साथ जिल्लाका तीन नगरपालिका र सात गाउँपालिका गरी १० वटै स्थानिय तहका करिब ४६ हजार घरधुरीमा र पसलहरु गरेर करिब ५० हजार सन्देशमूलक स्टिकर टाँसिने छ ।
स्टिकरमा व्यक्तिगत घटना दर्ता ३५ दिनभित्रै गर्नुपर्ने देखी वाल विवाह न्युनिकरण सम्बन्धी सचेतनामुलक नाराहरु राखिएको छ । यस्तै महिलालाई सम्मान गर्नुपर्ने सन्देश सहित आत्महत्या रोकथामबारे सचेतना फैलाउने उद्देश्यले स्टिकर तयार पारिएको समाचार रेडियो राप्ती सल्यानबाट बुद्धि पुनले पठाउनुभएको छ ।