काठमाण्डौँ, २६ माघ (जागरण) । केन्द्र सरकारले सुर्खेत र धादिङमा राजमार्ग नजिकै रहेका स्वास्थ्य केन्द्रलाई ट्रमा उपचार सेवामा विस्तार गर्ने भएको छ ।
दुर्घटनामा परेका व्यक्तिलाई तत्काल प्राथमिक उपचारको व्यवस्था गर्न सुर्खेतको सिम्ता गाउँपालिकास्थित राकम प्राथमिक स्वास्थ्य केन्द्र र धादिङको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई आगामी वर्षदेखि ट्रमा सेन्टरको रूपमा विस्तार गर्ने प्रस्ताव अघि बढेको हो ।
पहिलो चरणमा दुई वटा ट्रमा उपचार सेवा विस्तार गरिने र त्यसपछि सरकारले अरु ५२ वटा स्वास्थ्य संस्थामा ट्रमा उपचार सेवा विस्तार गर्ने छ । साधारण उपचारपछि केन्द्रीय अस्पताल पठाउन सजिलो होस् भनेर यस्तो गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसै आर्थिक वर्षबाट निर्माणको काम थाल्ने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले जानकारी दिनुभयो ।
रावतका अनुसार ट्रमा उपचार सेवा विस्तारका लागि एक करोड ६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार राजमार्गमा पर्ने स्वास्थ्य संस्थामा स्थापना गरिएको ट्रमा उपचार सेवाबाट चोटपटक लागेका बिरामीले आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने तथा आकस्मिक उपचार सेवा प्राप्त गर्ने उद्देश्यका साथ सेवा विस्तारमा लागेको जनाएको छ ।