प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ब्लक र पकेट क्षेत्रको दायरा बढाइदै

पंखबहादुर शाही ।
सुर्खेत, २६ माघ (जागरण) । कर्णाली प्रदेशको कृषि विकास निर्देशनालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ब्लक र पकेट क्षेत्रको दायरा बढाउने भएको छ । यसअघि ५ ओटा ब्लकमा केन्द्रित भई कार्यक्रम गरिएकोमा यो वर्ष अरु ८ वटा थपेर १३ वटा ब्लक बनाउन लागिएको हो ।
यस्तै, खाद्यन्न तथा फलफूल गरी यसअघि विभिन्न प्रकारका २७ वटा पकेट क्षेत्र रहेकोमा अव २२ वटा नयाँ थप गर्ने र ४९ वटा पु¥याइने छ ।
आज हुने भेलाबाट यसअघि गठन भएका सञ्चालक समितिसँग सम्झौतासमेत गर्न लागिएको कृषि विकास निर्देशनालयले जनाएको छ ।
विशेषगरी तरकारी, वेसार, अदुवा, अलैँची, फलफूललगायतका रैथान्ने बालीहरको पेकट क्षेत्र र ब्लक निर्धारण गरी कार्यक्रमहरु अघि बढाइएको छ ।
नयाँ ब्लकका लागि २८ लाख र पुराना ब्लकको लागि १४ लाख गरी ४२ लाख तथा नयाँ पकेट क्षेत्रका लागि ९ लाख र पुरानाको लागि ३ लाखका दरले १२ लाख रकम विनियोजन गरिएको निर्देशनालयका योजना अनुगमन तथा तथ्याङ्क शाखाका प्रमुख यम रानाले जागरणलाई जानकारी दिनुभयो ।
यसैबीच, यसपाली देखि व्लक तथा पकेट क्षेत्रमा बाली निर्धारण गरेर मात्रै कार्यक्रमहरु सञ्चालन गर्न लागिएको छ । यसअघि दिने गरिएको अनुदानमध्ये केहीमा अनियमितता भएको भेटिएकाले बाली निर्धारण गरेर नै कार्यक्रमहरु सञ्चालन गर्न लागिएको रानाले बताउनुभयो ।