एमाले माओवादीको ऐतिहासिक एकताः दक्षिण एसियाकै ठुलो कम्युनिष्ट पार्टी

काठमाण्डौं, ३ जेठ (जागरण) । दुई ठुला कम्युनिष्ट घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ बनेको छ ।
पुनर्ग्ठित पार्टीको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छन् भने ९ सदस्यीय सचिवालय बनाइएको छ ।
यो दक्षिण एसियाकै ठूलो कम्युनिष्ट पार्टी बनेको छ । एसियामा चीन र भियतनामपछि तेस्रो ठूलो कम्युनिष्ट पार्टी बनेको छ ।६ बुँदे घोषणापत्र एकता जारी गर्दै नेताहरुले आफूहरुको लक्ष्य जनतालाई सुखी र समृद्ध बनाउनु भएको बताएका छन् ।

बालुवाटारमा सपथ, नाममा अण्डरलाइन

एकता घोषणाअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई पार्टीको केन्द्रीय कार्यसमितिको संयुक्त बैठक बसेको थियो । नेताहरुले त्यही सामुहिक सपथ लिए ।
लगत्तै अध्यक्षद्वयले ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पनि दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी यसअघि नै निर्वाचन आयोगमा दर्ता भइसकेकाले अण्डरलाइन दिइएको हो । यद्यपि आयोगले निर्णय गरेको छैन ।
पुनर्ग्ठित पार्टीको तत्कालीन कार्यक्रम ‘समाजवाद उन्मुख जनताको जनवाद’ हुने भएको छ ।
एमालेले जनताको बहुदलीय जनवाद र माओवादीले २१ औं शताब्दीको जनवाद भन्दै आएको थियो । दुवैलाई आगामी महाधिवेशनमा बहसमा लगिने भएको छ । अहिले अघि सारिएको समाजवाद उन्मुख जनताको जनवादको अन्तरवस्तु भने जबज र एक्काइसौं शताव्दीको जनवादबाटै लिइएका छन् ।

९ सदस्यीय केन्द्रीय सचिवालय

पुनर्ग्ठित पार्टीले दैनिक कार्यसञ्चालनका लागि ९ सदस्यीय केन्द्रीय सचिवालय बनाइएको छ । पार्टी एकता संयोजन समितिमा एक सदस्य थपेर सचिवालय बनाइएको हो ।
पार्टीमा दुई अध्यक्ष ओली र प्रचण्ड रहनेछन् । कार्यकारी अधिकार दुबै अध्यक्षमा हुनेछ ।
त्यसपछिको वरियतामा माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल हुनेछन् । श्रेष्ठलाई प्रवक्ता र पौडेललाई महासचिवको जिम्मेवारी दिइएको छ ।
एकीकृत पार्टीको स्थायी कमिटी ४५ सदस्यीय हुनेछ, जसमा एमालेबाट २६ र माओवादीबाट १९ नेता हुनेछन् । यस्तै ४४१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । कमिटीमा एमालेबाट २ सय ४१ र माओवादीबाट २ सय नेता राख्ने सहमति भएको छ ।