सुर्खेत, २६ माघ (कर्णालीपत्र) । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभाका सांसदहरूले आफूलाई मन्त्रीको परिचय थप्ने कुरामा प्रदेश सरकारलाई बाटो खोलि दिन आग्रह गरेका छन् ।
सरकार गठन भएको दुई वर्ष बढी समय बितिसक्दासमेत प्रदेश सरकारले परिणाममूखि काम गर्न नसकेको भन्दै सांसदले पार्टीकै अर्को सरकार गठनका लागि मार्ग प्रसस्त गर्न माग गरेका हुन् ।
‘तपाईहरूले न सांसदलाई विश्वासमा लिन सक्नु भयो, नत जनतालाई परिणाम दिने काम गरेर देखाउनु भयो,’ सरकारप्रति कडा रूपमा प्रस्तुत भएका एक सांसदले भने, ‘तपाईहरू (मन्त्री)ले यसरी नै मनपरी काम गर्ने हो भने अबको बाँकी समय हामी अन्य सांसदहरूलाई मन्त्री बन्ने पालो पु¥याउन दिनुहोस् ।’
सार्वभौम सांसदले सँधै आफ्नै दलको नेतृत्वमा बनेको सरकारबाट अन्यायको महशुस गर्ने, नागरिकले प्रदेश सरकारका कामबाट सन्तुष्ट नपाउने कामको रमिते हामी बहुमत सांसद कहिलेसम्म बस्ने ? भन्दै प्रश्न गरेका ती सांसदले थपे, ‘समृद्ध कर्णाली प्रदेशको नाममा सरकारले शुरू गरेको गानाबजाना तपाईबाट अब पार लाग्ने देखिदैंन ।’
दलका सांसद र नेताले हाम्रो सरकार छ भन्ने महशुस नहुने, जनताले प्रदेश सरकार भएर यो काम राम्रो भयो भन्ने अवस्था नआउने हो भने पाँच वर्षमा जननिर्वाचित पार्टीका बाँकी २६ जना प्रदेश सभाका सांसदलाई पनि मन्त्री बन्ने वातावरण तयार पारौं ।
छ महिनापछि शनिबार बिहान ९ बजेदेखि शुरू भएको बैठकमा प्रदेश सरकारका मन्त्रीहरूले प्रगति विवरण प्रस्तुत गरेपछि आफ्नो भनाई राखेका नेकपाका अधिकांश सांसदहरूले प्रदेश सरकारले अपेक्षाकृत ढंगले काम गर्न नसकेकोप्रति तिब्र असन्तुष्टी व्यक्त गरे ।
स्रोतका अनुसार बैठकमा सांसदहरूले जताततै सरकारको आलोचना बढ्दै गएको, सरकारका मन्त्रीले मनलाग्दी बोल्ने गरेको गुनासो गरेका छन् । बैठकमा भाग लिने अधिकांश सदस्यमा सरकारको काम कारबाहीप्रति सन्तुष्टि देखिएन ।
सरकार आफ्नै दलको भएपनि आफूलाई साथमा लिन नसकेको, प्रतिपक्षीलाई बढी प्राथमिकता दिएकै कारण नेकपा र नेकपा नेतृत्वको सरकारका बारेमा सार्वजनिक बिरोध गर्ने मौका दिएको भन्दै सरकारको आलोचना भएको बैठकमा सहभागी सांसदले बताए ।
‘प्रदेश सरकारका योजनामा प्रदेश सभा सदस्यलाई जानकारी नै नदिई मनोमानी तरिकाले कार्यविधिका नाममा फेरबदल तथा रोक्का गर्ने गरेको भन्दै सरकारको बिरोध भयो ।’ ती सांसदले भने, ‘सरकारका मन्त्रीको यस्तो मनपरीलाई त संसदले कसरी हेरेर बस्न सक्छन् ?’ स्रोतका अनुसार नेकपा सांसदले प्रश्न गर्दै सरकारलाई हामीले नै काम गर भनेर भनेका होइनौं र ? कम्तिमा हामी सदस्यहरूको भावनाको कदर कहिले गर्ने ? कति बिरोध गर्ने ? भन्दै आफ्नो आक्रोश पोखें ।
दलको बैठकमा आलोचनाको केन्द्र दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाही नै रहेको बैठक सम्वद्ध स्रोतले जानकारी दियो । स्रोतले भन्यो, ‘प्रदेश सरकारले सोचे अनुसारको काम गर्न नसकेको कुरा छलफलमा व्यापक रूपमा उठेको मात्रै होइन, सरकारको विकल्पको विषयले समेत बैठकमा औपचारिक प्रवेश पायो ।’
अपुग भएका कर्मचारीलाई सरकारले करारमा भर्ना गरेको छ । हरेक जिल्लामा प्रदेशका विषयगत कार्यालय स्थापना पनि भएका छन् । के कारणले पूँजीगत खर्च गर्न सरकारले सकेन ? हामीलाई चित्त बुझ्दो जवाफ चाहियो भन्दै बैठकमा सांसदद्वारा मुख्यमन्त्री तथा दलका नेता शाहीको जवाफ मागियो ।
‘गएको साउनमा संसदले पारित गरेको बजेटलाई सरकारका मन्त्रीले आफू खुशी तलमाथि पार्ने काम गरेका छन् ।’ सांसदले भने, ‘दोहोरिएका योजनाहरूमा पनि मन्त्रीले आफू खुशी आफ्ना क्षेत्रमा योजना केन्द्रीत गरेको भन्दै आलोचना भएको छ ।’ आफ्नै दलका सांसदले दिएका योजनालाई कटौती गर्ने, संसदले पास गरेको डल्लो बजेटलाई सरकारले अपारदर्शि ढंगले वितरण गरेको भन्दै सत्तारूढ दलकै सांसदले सरकारको आलोचना गरे ।
लामो समयसम्म रिक्त रहेको भौतिक पूर्वाधार मन्त्रालयमा मन्त्री नियुक्त गर्नुको सट्टा मुख्यमन्त्री आफैले राखेकोमा असन्तुष्ट व्यक्त गरेका सांसदहरूले सरकारले फरक पार्टीको संयन्त्र प्रयोग गर्दै जाने, सरकारको महत्वपूर्ण सूचना चुहावट गर्ने गरेको भन्दै सजग रहन चेतावनी दिए ।
जवाफ अर्को वैठकमाः
नेकपा संसदीय दलको बैठकमा उठेका प्रश्नको जवाफ दलकातर्फबाट नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अब बस्ने अर्को बैठकमा दिनुहुने भएको छ । १२ घण्टासम्म चलेको दलको बैठकमा अधिकांश सांसदको भनाईपछि संक्षिप्त मन्तव्य राखेका शाहीले सबै जिज्ञासाको जवाफ एकै पटक अर्को बैठकमा दिने जानकारी दिनुभयो ।
स्रोतका अनुसार शाहीले सांसदले उठाएका कतिपय कुरामा सरकारका विभागीय मन्त्रालयको समेत राय ल्याउनु पर्ने, बजेट विभाजनको तयारी गर्नुपर्ने भएकाले अर्को बैठकमा उठेका कुराहरूको जवाफ दिने प्रतिवद्धता व्यक्त गरे । तर अर्को बैठक कहिले बस्ने भन्ने टुंगो छैन ।
निरासा व्यक्त गरेकोमा आपत्तीः
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरू स्वयम्ले काम गर्न दिएनन् भनेर सार्वजनिक रूपमा व्यक्त गरेको निरासाप्रति नेकपाका सांसदहरूले आपत्ति प्रकट गरेका छन् । मुख्यमन्त्री शाहीप्रति लक्षित गर्दै प्रदेश सभा सांसदले आफैं सरकार सञ्चालनको बागडोर सम्हाल्ने फेरी आफैले सार्वजनिक कार्यक्रममा घेराबन्दी भयो भन्ने कुरा निकै अश्वभाविक भएको भन्दै काम गर्न नदिने तत्वका बारेमा मुख खोल्न आग्रह गरे ।
‘प्रचण्ड बहुमतको सरकारलाई काम गर्न नदिने, घेराबन्दी गर्ने तत्व को हो ? दलकैतर्फबाट हामी मुकाविला गर्न तयार छौं ।’ एक सांसदले भने, ‘हैन भने प्रतिपक्षिलाई बिरोध गर्ने वातावरणको तयार सरकार आफैले गर्नु निकै निन्दनीय कार्य हो ।’
आफूले गर्ने काममा ढंग नपु¥याउने तर, दोष अर्कोको टाउँकोमा थुपार्ने प्रवृतीले स्थानीयस्तरमा सरकारको मात्र नभएर पार्टीकै बदनाम हुदैं गएकोले अधिकांश सांसदले सरकारलाई सजग गराए ।