के हो विश्व रेडियो दिवस ?

काठमाण्डौँ, १ फागुन (जागरण) । आज विश्व रेडियो दिवस । हरेक अँग्रेजी वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने गरिएअनुसार यो दिवस मनाउने गरिन्छ ।

स्पेनको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, सामाजिक तथा सास्कृतिक संगठन युनेस्कोले सन् २०११ नोभेम्बर ३ तारिखमा मनाउने निर्णय गरेअनुसार नेपालमा पनि रेडियो दिवस मनाउन थालिएको हो ।

रेडियोलाई महत्वपूर्ण सञ्चार माध्यमको रुपमा सम्मान गर्न, प्रसारकहरु बीचको अन्तर्राष्ट्रिय समन्वय र सहयोगमा सुधार गर्न, ठूला नेटवर्क र समुदायिक रेडियोलाई सूचनाको पहुँचलाई बढावा दिन प्रेरित गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको हो ।

विश्वमा व्यवसायिक रेडियो प्रशारण सुरु भएको १०० वर्ष भएको छ भने नेपालमा भने रेडियो प्रशारण सुरु भएको ६९ वर्ष पुगेको छ । भोजपुरमा २००३ सालमा रेडियोको प्रशारण सुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो । २०५२ सालदेखि एफएम प्रशारण सुरु भएको हो ।

अहिले इजाजत प्राप्त एफएम रेडियोको संख्या करिव १ हजार पुगेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । नेपालको सन्दर्भमा रेडियोको महत्व अझै धेरै छ । नेपालको भौगोलिक तथा अन्य सामाजिक, साँस्कृतिक तथा धार्मिक हिसावले विविधता रहेकाले नेपालमा रेडियोको लोकप्रियता अझै धेरै छ ।

नेपाली जीवन शैलीको कारणले पनि अन्य सञ्चार माध्यमको तुलनामा रेडियो माध्यम लोकप्रिय र उपयोगी बनेको हो । खासगरी सामुदायिक विविधतालाई सामुदायिक रेडियोहरुले व्यापक मात्रामा बढवा दिएका छन् । यसवर्षको रेडियो दिवसको नारा पनि ‘रेडियो र विविधता’ नै रहेको छ ।

सामुदायिक रेडियोहरुको छाता संगठन सामुदायिक रेडियो प्रशारक संघ (अकोराव) नेपालले यसवर्ष देशका सात वटा प्रदेशमा सप्ताहव्यापी अर्थात् छुट्टाछुट्टै र संघिय राजधानी काठमाण्डौँमा विशेष कार्यक्रम गरी दिवसको अवसरमा कार्यक्रम आयोजना गरेको छ ।

जसअन्तर्गत कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा माघ महिनाको २८ गते मंगलबार कर्णाली प्रदेशका सामुदायिक रेडियोकर्मीहरुले दिवसको अवसरमा शुभकामना आदान प्रदान तथा अन्तक्र्रिया गरेका छन् ।