छोरी–बुहारी प्राविधिक शिक्षाका लागि यसपाली पनि छात्रबृत्ती

पंखबहादुर शाही ।
सुर्खेत, १ फागुन (जागरण) । छोरी–बुहारीलाई प्राविधिक शिक्षा अध्ययनका लागि छात्रबृति दिने कार्यक्रम कर्णाली प्रदेश सरकारले यसपाली पनि निरन्तरता दिने भएको छ ।
प्राविधिक शिक्षा पढ्ने चाहना भएपनि आर्थिक अवस्थाले गर्दा प्राविधिक शिक्षा पढ्नबाट वञ्चित भएका छोरी–बुहारीलाई छात्रवृति दिएर पढाउन थाल्ने भएको हो ।
प्राविधिक शिक्षामा छोरी–बुहारीको पहुँच बढाउन प्रदेश सरकारले चालू शैक्षिक–सत्रमा थप १ सय जनालाई छात्रृृत्ति प्रदान गर्ने छ । आर्थिक बर्ष २०७५/०७६ मा प्रदेश सरकारले १ सय ५० जना छोरी–बुहारी पढाउनको लागि छात्रबृति दिइरहेको छ ।


नर्सिङ, एचए, फार्मेसी, कवीराज, ल्याव टेक्निसियन, रेडियोलोजिस्ट, बाली विज्ञान, बागवानी, पशु विज्ञान, वन विज्ञान, इन्जिनियरिङ र कम्प्युटर विज्ञानमा डिप्लोमा अध्ययन गर्नका लागि प्रदेश सरकारले छात्रवृत्ति उपलब्ध गराउने छ । अध्ययनरत छोरी–बुहारीलाई स्नातक तहसम्म नियमित छात्रवृति उपलब्ध गराउने छ ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले अघिल्लो शैक्षिक–सत्रका १ सय ५० छोरी–बुहारीका साथै चालू शैक्षिक–सत्रमा थप १ सय जनालाई छात्रवृत्ति प्रदान गरिने जानकारी दिनुभयो ।
उहाँले प्रदेश सरकारले छोरी–बुहारी प्राविधिक शिक्षाका लागि चालू आर्थिक वर्षमा १ करोड रुपैयाँ विनियोजन गरेको बताउनुभयो । उहाँले अघिल्लो बर्ष छोरी–बुहारीलाई प्राविधिक शिक्षा पढाउनको लागि १ करोड ३० लाख ३६ हजार १ सय ३८ रुपैयाँ विनियोजन गरेको बताउनुभएको छ ।
प्रदेश सरकारले अध्ययन गराइरहेका वा चालु आर्थिक बर्षमा प्राविधिक शिक्षा अध्ययन गर्नका लागि आउने छोरी–बुहारीलाई शर्त राखेर छात्रबृति दिइरहेको छ । प्राविधिक शिक्षा अध्ययन सकेपछि छोरी बुहारीले प्रदेश सरकारले खटाएको ठाउँमा कम्तिमा तीन बर्ष काम गर्नुपर्ने लिखित सम्झौता गरेको छ ।
छोरी–बुहारी छात्रवृत्ति कार्यक्रममा सहभागी हुनका लागि सरकारी विद्यालयबाट एसएलसी÷एसईई उत्तीर्ण गरेको हुनुपर्ने, कर्णाली प्रदेशभित्रको स्थायी बासिन्दा हो भनि स्थानीय तहले सिफारिस गर्नुपर्ने साथै प्राविधिक विषय अध्ययनका लागि भर्ना भई नियमित अध्ययनका साथै अन्य कुनै सरकारी छात्रवृत्ति नभएकोलाई मात्रै यो कार्यक्रमभित्र समावेश गर्नेछ ।
अनाथ, असहायहरुको हकमा भने निजी शिक्षण संस्थाबाट एसईई उत्तीर्ण गरेकाहरुले पनि छात्रवृत्ति पाउने छन् । यसका लागि उनीहरुले स्थानीय तहबाट अनाथ, असहाय भनि प्रमाणित गरेको सिफारिस पेश गर्नुपर्ने हुन्छ । प्राविधिक शिक्षा अध्ययनाका लागि एक जनालाई वर्षमा न्यूनतम ६६ हजारदेखि एक लाख ३० हजारसम्म छात्रवृत्ति दिन्छ ।