सुरक्षित गर्भपतन र प्रजननबारे छुट्टै पाठ्यक्रममा जोड

सुर्खेत, ३ फागुन (जागरण) । कर्णाली प्रदेशका युवा–युवतिले सुरक्षित गर्भपतन र यौन प्रजननबारे छुट्टै पाठ्यक्रम तयार गर्नुपर्ने बताएका छन् ।
नेपालका धेरैजसो नारिहरुले गर्भपतन गराउँदा असुरक्षित हुने भन्दै सिडिएम पार्क मुगुले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा गरेको सुरक्षित गर्भपतनबारे छलफलमा सहभागीहरुले यस्तो बताएका हुन् । सबैभन्दा पहिले सोचाईमा परिर्वतन गर्ने खालमा अभियानहरु सञ्चालन गरिनुपर्ने उनीहरुले बताए ।
सहभागि सुर्खेतका बसन्त जैसिले प्रजनन सम्बन्धी राज्यले छुट्टै ऐन बनाई विषयगत रुपमा समेट्नुपर्ने बताउनुभयो । उहाँले सुरक्षित गर्भपतनका कुरालाई वैज्ञानिक ढंगबाट हेरिनुपर्नेमा जोड दिनुभयो ।
जुम्लाका रुपलाल देवकोटाले चेतनाको कमिका कारण महिलाहरु समस्याहरुबाट ग्रसित भएका र सवै तहका सरकारले चेतनाका अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो । कार्यक्रमका सहजकर्ता रुपा उप्रेतिले पछिल्लो समय असुरक्षित गर्भपतन गरी आफ्नो जीवन धरापमा पार्ने किशोरी तथा महिलाको संख्या बढेको बताउनुभयो ।