कर्णालीका सवै जिल्लामा आप्रवासन सहायता कक्ष स्थापना हुने

पंखबहादुर शाही ।
सुर्खेत, ५ फागुन (जागरण) । कर्णाली प्रदेशका १० ओटै जिल्लामा वैदेशिक रोजगारी ‘आप्रवासन सहायता कक्ष’ स्थापना हुने भएको छ । रोजगारीका लागि विदेशीनेहरुलाई चेतना र सन्देश दिने उद्देश्यले ‘आप्रपासन सहायता कक्ष’ स्थापना गरिने भएको हो ।

१० वटै जिल्लामा ‘आप्रवासन सहायता कक्ष’ स्थापना गर्नका लागि प्रदेश सरकारले ५० लाख रकम विनियोजन गरेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको श्रम तथा रोजगार शाखाले जनाएको छ ।


प्रत्येक जिल्लामा स्थापना हुने कक्षका लागि ५ लाख रुपैयाँ खर्चिने श्रम तथा रोजगार शाखाका जय प्रसाद आचार्यले जानकारी दिनुभयो ।
वैदेशिक रोजगारीमा जानेहरु जिल्ला प्रशासन कार्यालयमा राहदानी लिन जाँदा उनीहरुलाई वैदेशिक रोजगारमा जाँदा ध्यान दिनुपर्ने कुराहरुको बारेमा जानकारी गराइने छ ।

वैदेशिक रोजगारिमा जाँदा सबै कुराको ज्ञान नहुने, समस्यामा पर्ने भएकाले अव सम्बन्धीत जिल्ला स्तर देखि नै चेतनाको विकास गरिनुपर्ने उहाँको भनाई छ ।

आचार्यका अनुसार बसपार्कमा पनि ‘आप्रवासन सहायता कक्ष’ सञ्चालन गर्न लागिएको छ । उनीहरुलाई सकेसम्म आफ्नै ठाउँमा रोजगारी सिर्जना गरेर काम गर्नुपर्ने र विदेश जानै पर्ने भए सुरक्षित रुपमा जाने वातावरण बनाउन लागिएको छ ।

कर्णाली प्रदेशका करिब ८५ प्रतिशत युवाहरु विभिन्न कामका लागि देश छोडेर जाने गरेका छन् । वैदेशिक रोजगारिमा जानेहरु प्रायः कतार, साउदि अरव, मलेसिया, कुवेत लगायतका मुलुकाहरुमा जाने गर्दछन् ।

यसको यकिन तथ्याङ्क प्रदेश सरकार सँग नभएपनि २०६८ को जनगणना अनुसार ८५ प्रतिशत युवाहरुले रोजगारिका लागि देश छाडेर बाहिर जाने गरेका छन् ।