सुर्खेत, ६ फागुन (जागरण) । अवको पाँच महिनाभित्र कर्णाली प्रदेशमा दुई किसिमका सामाजिक हानिकारक प्रथाको अन्त्य गरिने भएको छ ।
कर्णाली प्रदेशमा व्याप्त सामाजिक हानिकारक प्रथाहरु मध्ये बालविवाह र छुई अथवा छाउपडि प्रथाको अन्त्य गर्ने तयारी भएको हो ।
त्यसका लागि सामाजिक विकास मन्त्रालयले विभिन्न प्रकारका अभियान सञ्चालन गरिरहेको छ । सामाजिक रुपमा सचेतनामूलक कार्यक्रमहरु अहिले सञ्चालन भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्री दल रावलले कर्णालीमा यहि बर्ष देखि बालविवाहको अन्त्य हुने र ‘छुई’ प्रथाको अन्त्य आउँदो असारमा नै गरिसक्ने दावी गर्नुभयो । छुवाछुतको अन्त्य र समाजमा रहेका विकृति, विसंगतिको अन्त्य गरी देश समृद्धि मुलुकको रुपमा विकास गरिने बताउनुभयो ।
एक करोड ७ लाख अथवा ४० प्रतिशत युवा उमेर समूहका नागरिकहरु भएको नेपालमा युवाहरुबाट ठुलो लाभ देशले लिनसक्ने भएपनि युवाहरुले खाडीलाई रोज्ने गरेकाले कामले गति लिन नसकेको बताउनुभयो । सामाजिक कुरिती अन्त्यका लागि युवाको भूमिका नै महत्वपूर्ण रहने उहाँले बताउनुभयो ।
यस्तै प्रदेश सभा सांसद सिता नेपालीले अहिले राज्यले छाउगोठ भत्काउने अभियान् थालेको भए पनि मनका छाउगोठ नभत्किाएको बताउनुभयो । उहाँले अन्धविश्वासविरुद्ध युवाहरुले प्रभावकारी, प्रगतिशिल विचार राख्नुपर्ने बताउनुभयो । यस्तै प्रदेश सभा सदस्य तथा युवा सांसद दानसिंह परियारले विकशित मुलुकले युवा परिचालन गरेर नै अग्र स्थानमा पुगेको बताउनुभयो ।
यसैबीच, नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद नेपालको आयोजना तथा जिल्ला युवा समिति सुर्खेत र समाज जागरण केन्द्र (स्याक) नेपालको संयोजकत्वमा ‘अन्धविश्वास, लैङ्गिक हिंसा जातिय विभेद् तथा छुवाछुत विरुद्धमा युवा अभियान’ विषयक कार्यक्रम कर्णाली प्रदेशको राजधानी सुर्खेतमा गरिएको छ ।