मुगु, ७ फागुन (रेडियो सौर्यदय) । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको मुगुको रारा पुग्ने पर्यटकहरुका लागि नेचर गाइड तयार पारिएका छन् ।
रारा राष्ट्रिय निकुञ्जले राराको जैबिक विविधता, वन्यजन्तु, चराचुरुङ्गी, पदमार्ग तथा नेपाल भ्रमण वर्षलाई लक्षित गरी ३३ जना नेचर गाइड तयार गरेको हो । रारा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज बनाउन नेचर गाइट तालिम समेत दिइएको निकुञ्जले जनाएको छ ।
राष्ट्रिय बन्यजन्तु संरक्षण ऐन २०२९ हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०३६ अनुसार प्रत्येक निकुञ्जले अनिवार्य नेचर गाइड राख्नुपर्ने व्यवस्था गरेको छ । तर, रारा राष्ट्रिय निकुञ्जले यसअघि नेचर गाइड तयार गरेको थिएन ।
निकुञ्ज स्थापनापछि पहिलोपटक नेचर गाइट उत्पादन गरिएको निकुञ्ज कार्यालयका संरक्षण अधिकृत लालबहादुर भण्डारीले बताउनुभयो ।
रारा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई राराबारे जानकारी गराउनुका साथै निकुञ्जभित्र रहेका जैविक विविधता, वन्यजन्तु, वनस्पति, चराचुरङ्गी, धार्मिक तथा सांस्कृतिक परम्पराकाबारे नेचर गाइडले जानकारी गराउने छन् ।
साथै, यस योजनाले मध्यवर्ती क्षेत्रमा बसोबास गर्नेहरुलाई रोजगारको सिर्जना गर्ने अधिकृत भण्डारीले बताउनुभएको छ ।