प्रदेशस्तरीय ‘क्यान इन्फोटेक’ फागुन २८ देखि

सुर्खेत, ८ फागुन (जागरण) । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) ले यस वर्षपनि कर्णाली प्रदेशस्तरीय ‘क्यान इन्फोटेक’ गर्ने भएको छ ।
क्यान महासंघ सुर्खेतले प्रदेश राजधानी वीरेन्द्रनगरमा आगामी फागुन २८ देखि चैत २ गतेसम्म ‘क्यान इन्फोटेक’ को आयोजना गर्न लागेको हो ।
सूचना तथा संचार प्रविधिका क्षेत्रमा भएका विकास तथा नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गर्ने उद्देश्यले क्यान इन्फोटेकको आयोजना गर्न लागिएको क्यान महासंघ सुर्खेतका अध्यक्ष तिलक प्रसाद आचार्यले पत्रकार सम्मेलनमार्फत् जानकारी दिनुभयो ।
पाँच दिनसम्म चल्ने इन्फोटेकमा सञ्चारसँग सम्बन्धित विभिन्न राष्ट्रिय र अन्र्तराष्ट्रिय कम्पनीहरुको सहभागिता रहने छ । इन्फोटेकका दर्शकहरुले नयाँ प्रविधिका उपकरणहरुको अवलोकन तथा खरिद गर्न सकिने व्यवस्था गरिएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
इन्फोटेकमा सफ्टवेयरसँग सम्बन्धित बजारमूल्य भन्दा करिव ३० देखि ५० प्रतिसत छुट र अन्य हाडवेयर सामग्रीहरु १० प्रतिसत छुटमा खरिद गर्न सकिने बताइएको छ ।
इन्फोटेकमा जम्मा ६५ वटा प्रदर्शनी स्टलहरु रहने जनाइएको छ भने स्टल बुकिङ्गका लागि खुल्ला भइसकेको आयोजकले जनाएको छ ।
प्रदर्शनीमा रहेका स्टलहरुको भाडा प्रति स्टल १२ हजार तय गरिएको छ भने स्थानीय व्यापारीका लागि १० प्रतिसत सहुलियत गरिएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।