दैलेखको आठविसमा १ सय शैयाको अस्पताल बनाइने

पंखबहादुर शाही ।
सुर्खेत, ११ फागुन (जागरण) । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले सेवा क्षेत्र विस्तार गर्ने भएको छ । प्रतिष्ठानले दैलेखको आठबीस नगरपालिकामा १ सय शैयाको अस्पताल सञ्चालन गर्ने भएको हो ।

अस्पताल निर्माण र सञ्चालनका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र आठबीस नगरपालिकाबीच सम्झौता भएको छ ।
सम्झौता पत्रमा १ सय शैयाको ‘ट्रमा सेन्टर’ अथवा अस्पताल निर्माणको लागि नगरपालिका र प्रतिष्ठानबिच समन्वय र सहकार्य हुनुपर्ने बताइएको छ ।

१३ ओटा शर्तहरु रहेको सम्झौता पत्रमा नगरपालिकाको तर्फबाट नगर–प्रमुख खड्गराज उपाध्याय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको तर्फबाट प्रतिष्ठानका निर्देशक धर्मराज गोसाईले हस्ताक्षर गर्नुभएको छ ।

पत्रमा दुई पक्षको सम्बन्ध विस्तार हुँदै सहकार्य गर्ने, प्रदेश सरकार र संघीय सरकार सँग समन्वयन गरी दुई पक्षले अस्पताल निर्माण र सञ्चालन गर्ने, सर्वसुलभ विशेषज्ञ सेवाहरु उपलब्ध गराउने उद्देश्यका साथ सम्झौता भएको नगर–प्रमुख खड्गराज उपाध्यायले बताउनुभयो ।

यस्तै तत्कालका लागि ‘एक्सरे मेसिन, ल्याव, लगायतका सामग्री र डाक्टरहरुको फिल्ड भत्ताको व्यवस्था नगरपालिकाले गर्ने छ । उहाँको अनुसार अस्पताल निर्माणका लागि यो पटक डिपीआर हुनेछ ।

शिक्षण अस्पताल निर्माण भई सञ्चालन भएमा अछाम, दैलेख, कालिकोटलगायत जिल्लाका नागरिकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।

उहाँका अनुसार ‘अस्पताल निर्माणका लागि मापदण्ड अनुसारको आवश्यक जग्गा नगरपालिकाले निःशुल्क उपलब्ध गराउनुपर्ने छ ।