सुर्खेत, १२ फागुन (जागरण) । कर्णाली प्रदेशमा आउनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनमा सत्तारूढ दलले अनावश्यक किचलो गरेको बताउनुभएको छ ।
पार्टीको निर्वाचन अभिमुखीकरणका लागि सुर्खेत आइपुग्नु भएका थापाले पत्रकार भेटघाटमा सत्तारूढ दल नेकपाका नेताहरूबीचको आपसी झगडाका कारण एमसीसीमा अनावश्यक भ्रम र आशङ्का सिर्जना गरिएको दावी गर्नुभयो । अध्यक्ष थापाले एमसीसी सम्झौता हस्ताक्षरमा आफ्नो पार्टीको भूमिका भने न्यून रहेको बताउनु भयो ।
एमसिसीको सन्दर्भमा तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईदेखि वर्तमान प्रधानमन्त्री केपी ओली शर्मासम्मका सबै प्रधानमन्त्री र अर्थमन्त्रीहरु जिम्मेवार रहेको उहाँको भनाई छ ।
थापाले एमसीसीलाई अन्तिम रूप दिने काम तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहालकै पालामा भएको प्रस्ट पार्नुभयो । एमसीसीलाई अनावश्यक बहसमा ल्याएर नेकपाले अस्थिर र अराजक मनस्थिति प्रदर्शन गरेको बताउँदै उहाँले एमसीसीका केही प्राविधिक विषयलाई परिमार्जन गरेर राष्ट्र हितमा लागू गर्नुको विकल्प नभएको बताउनुभएको छ ।
अध्यक्ष थापाले नेकपाले राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउन सकिने गरी संविधान संशोधनको गृहकार्य थालेको विषयलाई ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ को संज्ञा दिनुभयो ।