कर्णालीमा शिक्षातर्फ धेरै भ्रष्टाचार, घुससहित प्रअ पक्राऊ–डुङ्गेश्वरका चारलाई मुद्दा

सुर्खेत, १७ फागुन (जागरण) । कर्णाली प्रदेशको शिक्षा क्षेत्रमा भ्रष्टाचार बढी मात्रामा हुने गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाअनुसार शिक्षक नियुक्ती, सरुवालगायतका विषयमा आर्थिक चलखेल हुने गरेको छ ।
प्रदेशभर चालु आर्थिक वर्षमा जम्मा ८ सय ७१ उजुरीमध्ये शिक्षाका क्षेत्रकामात्रै १ सय ५५ वटा भ्रष्टाचारका उजुरी परेका छन् । जम्मा उजुरीमध्ये ३ सय ८ वटा फच्र्यौट भइसकेका छन् । शिक्षातर्फ ६८ वटा फच्र्यौट भइसकेका छन् । स्थानिय तहका शिक्षातर्फ ८७ वटा उजुरी रहेका छन् ।


स्वास्थ्यतर्फ १३, शिक्षा विज्ञान तथा प्रविधितर्फ ५५, उद्योग पर्यटन वन तथा वातावरणतर्फ ३८ उजुरी रहेका छन् । सवैभन्दा थोरै एउटा मात्रै उजुरी कानून तथा न्याय संसदिय मामिलातर्फ रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सुचना अधिकारी मेघनाथ सापकोटाले जागरणलाई बताउनुभयो ।
यसैबीच, दैलेखको नौमुले गाउँपालिकामा एक जना प्रधानाध्यापकलाई घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ । नौमुले गाउँपालिका–१ मा रहेको भैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक नगेन्द्रबहादुर सिंहलाई ३० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिइएको हो ।
प्रधानाध्यापक सिंह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगनबहादुर बस्नेतले विद्यालयका शिक्षकको चौमासिक तलव र दशैँ खर्च वापतको रकम उपलब्ध गराइदिने प्रयोजनाका लागि शिक्षक संग घुस मागिरहेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धाल आयोग सुर्खेतबाट खटिएर दैलेख पुगेको टोलिले नियन्त्रणमा लिएको हो । घुस रकम लिइसकेको अवस्थामा सिंहलाई नौमुले गाउँपालिका–१ मा स्थित एनएमबी बैँकको शाखा प्रबन्धकको कार्यकक्षबाट नियन्त्रणमा लिइएको हो । सिंहमाथि थप अनुसन्धान भइरहेको सापकोटाले जानकारी दिनुभएको छ ।
दैलेखको डुङ्गेश्वर गाउँपालिका ५ का वडाअध्यक्ष टेकबहादुर भण्डारीसहित ४ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
डुङ्गेश्वर गाउँपालिका ५ स्थित पिपलचौतारा माध्यमिक विद्यालयको राहत दरबन्दीमा निम्न माध्यमिक विद्यालय तहको सामाजिक विषयको शिक्षक पदपूर्तिका लागि गाउँपालिकाबाट सञ्चालन गरिएको शिक्षक छनौट परीक्षामा गोपनीयता भंग गरी आफ्ना निकटलाई उत्तीर्ण गराएर अनियमितता गरेको छानबिनबाट पुष्टि भएपछि वडाअध्यक्षसहित चारविरुद्ध मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार वडाअध्यक्ष भण्डारीसहित वडाका सदस्य समेत रहेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष भक्तबहादुर शाही, छनौटमा परेका शिक्षक घनश्याम भण्डारी र बैकल्पिक उम्मेदवार दलबहादुर विश्वकर्माविरुद्ध मुद्दा दायर गरिएको हो ।
शिक्षक छनौटका लागि गाउँपालिकाले गत पुष २६ गते परीक्षा सञ्चालन गर्दा वडाध्यक्ष भण्डारीको निर्देशनमा वडासदस्य एवं विद्यालय व्यवस्थापन समिति अध्यक्ष शाहीले परीक्षा सञ्चालन हुनअघि नै प्रश्नपत्र परीक्षार्थी घनश्याम भण्डारी र दलबहादुर विश्वकर्माको म्यासेन्जरमा पठाएका थिए ।