मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको विवाद समाधान

सुर्खेत, १७ फागुन (जागरण) । मदन भण्डारी राजमार्ग अन्तरगत पर्ने सुर्खेतको पञ्चपुरी नगरपालिकामा देखिएको विवाद समाधान भएको छ ।

नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री एवम् सुर्खेत क्षेत्र नम्बर २ का सांसद नवराज रावतको पहलमा विवाद समाधान भएको हो । राजमार्ग सालकोट र बाबियाचौर कुन स्थानबाट लैजाने भन्ने विषयमा विवाद रहँदै आएको थियो ।

राजमार्ग सालकोट हुँदै लैजाने र हाल खम्बागाडे, बाबियाचौर हुँदै बिद्यापुर जोड्ने सडकको स्तरोन्नती गरी त्यही मापदण्डको सडक बन्ने भएपछि विवाद समाधान भएको हो ।

राज्यमन्त्री रावतले विवाद समाधानपछि डिपिआरको काम आजदेखि फेरी शुरु गरिएको छ । खम्बागाडे बाबियाचौर हुँदै जाने सडक करिब २० किलोमिटर लम्बाई हुने छ, भने ५० मिटर चौडा बन्ने छ ।

विवाद समाधान गर्न सुर्खेत पुग्नुभएका राज्यमन्त्री रावतले आफुले गरेका प्रतिवद्धता पुरा गर्ने भन्दै विकासका काममा विवाद गर्न नहुने बताउनुभयो । विकासका काम रफ्तारले अगाडी बढिरहेको भन्दै अब स्थानीय सरकारहरुले पनि विकास गर्ने सवालमा जिम्मेवारी लिन आग्रह गर्नुभयो ।

उहाँले अब जनताका समस्या विगतको जस्तो नरहने भन्दै अब विकासका पूर्वाधारहरुको विकास तिव्र हुने दाबी गर्नुभयो । उहाँले कर्णालीमा रहँदै आएको स्वास्थ्य क्षेत्रको समस्या हल गर्न आफुले पहल गरेको भन्दै सुर्खेतका तीनवटा ठाउँमा अस्पताल बनाउनेगरी काम अगाडी बढेको बताउनुभयो ।