मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा सिंह, कसरी भयो नियुक्ती ?

काठमाडौं, १९ फागुन (जागरण) । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर नन्दबहादुर सिंह ठकुरी नियुक्त हुनुभएको छ ।

डाक्टर उषा झा नेतृत्वको सर्च कमिटीले केही महिना अगाडि कुलपती तथा प्रधानमन्त्री केपी ओलीलाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि गरेको सिफारिशका आधारमा सिंह उपकुलपति नियुक्त हुनुभएको हो ।

सर्च कमिटिले सिंहसंगै जनार्दन लामिछाने र केशरसिंह राना गरी तीन जनाको नाम सिफारिस गरेको थियो ।

त्रिभुवन विश्वविद्यालयका प्रध्यापक नन्दबहादुर सिंह सिफारिस लिस्टको एक नम्बरमा सिफारिस हुनुभएको थियो ।

सिंहले संसारकै उत्कृष्ट १२ मा पर्ने टोकियो विश्वविद्यालयबाट सन् २००२ मा विद्यावारिधी गर्नुभएको छ भने त्रिभुवन विश्वविद्यालयका प्राध्यापक समेत हुनुहुन्छ ।

सिंह नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको पूर्व एमाले कोटाबाट सिफारिशमा परेको विश्वविद्यालय निकट श्रोतले बताएको छ ।

सिंहलाई प्रधानमन्त्री, सिनेट सदस्य तथा नेकपा कर्णाली प्रदेश सहसंयोजक र प्रदेश इन्चार्ज जनार्दन शर्माको पनि उत्तिकै सहयोग रहेको चर्चा चलेको छ ।

योग्यता, अनुभव र क्षमता तथा राजनितिक पहुँचको आधारमा सिंह पहिलो नम्बर लिष्टमा परेको कतिपयको दाबी छ ।

गत असोजमा पूर्व उपकुलपति उपेन्द्रकुमार कोइरालाको पदावधी सकिएपछि सरकारले डाक्टर मस्तबहादुर गरंजालाई अर्को व्यवस्था नहुन्जेल सम्मका लागि उपकुलपति नियुक्त गरेको थियो ।