टेकराज केसी ।
दैलेख रानिमत्ता, २२ फागुन (जागरण) । सामुदायिक रेडियो प्रशारक संघको एउटा टिम गत बर्ष दैलेख गुराँस गाउँपालिका पुग्यो । त्यहाँको रमणिय ठाउँको अवलोकन पश्चात उनिहरुको प्रतिक्रिया थियो, कस्तो राम्रो ठाउँ । यस क्षेत्रलाई स्थानीय सरकार र नजिकै रहेको प्रदेश सरकारले पर्यटन प्रवद्र्धन गरी अझै आनन्दको वातावरण सृजना गर्न सक्नुपर्ने उनिहरुको सुझाव छ । उनिहरु त केवल उदाहरण मात्र हुन यस क्षेत्रमा पुग्ने अधिकांस व्यक्तीहरुले पनि यस्तै सुझाव दिन्छन् । यो क्षेत्रलाई साविकको कर्णाली अञ्चलको प्रवेशद्वारका रुपमा लिने गरिन्छ । यहाँ लालि गुराँस फुल्ने समयदेखि हिउँदको समयमा हिउँ पर्ने सम्मको आनन्दको वातावरण छ । १२ महिना सिरोटो हावा चलिरहने यस ठाउँमा प्राकृतिक सौन्दर्यतासँगै विभिन्न हिमालहरुको अवलोकन गर्न सकिन्छ । गुराँसे मात्र हैन् यस गाउँपालिकामा रहेका ८ वटै वडाहरु हेर्न लायक र आनन्दमय छन् ।
वडा नम्बर एकः देउराली गुफा र मगर होम स्टे
वडा नम्बर एकमा घुम्न लायक ठाउँमध्य एउटा ठाउँ हो देउराली गुफा । यो गुफा हेर्न आउनेको संख्या दिनानु दिन बढ्ने गरेको छ । भने अहिले यस ठाउँमा मगर संस्कृतीका परिकार र नाचहरु देखाउने गरिन्छ । पाहुनालाई स्वागतको लागि आतुर रहेको यस वडामा मगर होमस्टे पनि संचालनमा छ । जसलाई गाउँपालिकाको सहयोगमा निर्माण गरिएको हो । होम स्टेमा कोदोको रोटी, ढिडो आटो सिस्नो लगायतका अर्गानिक खानाको व्यवस्था गरिएको वडा अध्यक्ष नर बहादुर रामजालीले जानकारी दिए । उनले भने, ‘हाम्रो संस्कृती जोगाउन र पर्यटन प्रवद्र्धन गर्न यहाँका रमणिय ठाउँहरुको अवलोकन गराउने गरेका छौ ।’ उनले वडा नम्बर १ मा रहेका अन्य रमणिय ठाउँ र झरनाहरु समेत रहेको बताए । यहाँ रहेको देउराली गुफाको संरक्षणका लागि अझै पहल गरिदिन उनले आग्रह समेत गरेका छन् ।
वडा नम्बर दुईः डुङ्गेल मन्दीरसहित कर्णाली नदीको आनन्द
वडा नम्बर दुईमा रहेको डुङ्गेल मन्दीर जाहाँ पुजा गर्दा सन्तान नहुनेको सान्तान हुने धार्मीक विश्वास राखिन्छ । यस मन्दीरमा शुक्रबार र शनिबार बाक्लो मात्रामा भक्तजनहरुको घुइचो लाग्ने गर्दछ । कर्णाली राजमार्ग हुँदै जुम्ला कालिकोट जाने यात्रुहरुले यस मन्दीरको दर्शन गरेर जाने गर्दछन् । जसको कारण सवारी दुर्घटना हुदैन भन्ने धार्मीक मान्यता रही आएको छ । यसको प्रचार प्रशार हुन नसकेको वडा नम्बर २ का अध्यक्ष रतन रावलले बताए । उनले सामाजिक, धार्मीक र पुरातात्वीक सम्पदाले भरिपूर्ण आफ्नो वडामा मगर संस्कृतीको होम स्टे सुचारु गरिएको जानकारी दिए ।
यस्तै, वडा नम्बर २ मै अवस्थित कर्णाली नदीको आनन्द छुट्टै छ । त्यहाँ पाईने माछा खाँदाको आनन्द अझ बेग्लै छ । त्यतीमात्र हैन्, कर्णाली नदीमा ¥याप्टीङ गर्दाको मज्जा त बयान गरेर साध्य छैन् । तर भौतिक संरचना र पर्यटक व्यवस्थापनमा स्थानीय सरकारले ध्यान दिनुपर्ने स्थानीयको सुझाव छ । साथै यो वडामा अहिले अग्लो ठाउँमा रहेको झरना पनि रहेको छ ।
वडा नम्बर तिनः पाँच भाई पाण्डपले बनाएका पञ्चदेवल र पुरातात्वीक सम्पदाहरु
वडा नम्बर तिनपनि पर्यटकीय स्थलको रुपमा लिन सकिन्छ । पाच भाई पाण्डपहरुले निर्माण गरेका पञ्चदेवल, मुग्राहरु र ढुङ्गे धाराहरु यस वडामा रहेका छन् । विभिन्न चित्रहरु अंकित यी पञ्चदेवलहरुको अवलोकन गर्दा पुरानो सभ्यताको याद आउने गर्दछ । त्यसैगरी यहाँबाट कर्णाली र डुङ्गेश्वरको फाटलाई अवलोकन गर्न सकिन्छ, भने बिभिन्न रमणिय ठाउँहरु यस क्षेत्रमा रहेका छन् । यसको प्रचार प्रशार गर्न नसकिएको वडा नम्बर ३ का अध्यक्ष गंगाराम खत्रीले बताए । यस क्षेत्रमा तामा खानी रहेको विश्वास गरिन्छ । भने पुराना सभ्यतामा आधारित सम्पताहरु प्रसस्त छन् ।
वडा नम्बर चारः गुराँसेको लालिगुराँस र अग्ला अग्ला हिमालको दृश्य
गाउँपालिकाको मुटुमा रहेको वडा नम्बर ४ पर्यटकीय दृष्टिले सबैभन्दा अगाडी रहेको वडा हो । यो वडाको रतिखोलामा रातो गाई खोलाले बगाएको किंम्बदन्ती छ । त्यो गाईको अवशेष अहिलेपनि देख्न पाइने बुढापाकाहरु बताउछन् । यस वडाको गुराँसे लेख सबैभन्दा प्रसिद्ध छ । यस ठाउँबाट धेरै हिमालहरुको दृश्यहरु अवलोकन गर्न पाइन्छ भने यहाँ हिउँदमा हिउँ हेर्ने र खेल्ने बसन्त ऋतुमा लालि गुराँसको फुलेको देख्दा मन आनन्दित हुने गर्दछ । यही हेर्नकै लागि सुर्खेत नेपालगञ्जबाट धेरै मानिसहरु यस क्षेत्रमा जाने गरेका छन् । यो क्षेत्रमा पर्यटन व्यवसायबाट नै मानिसहरुले आफ्नो आर्थिक वृद्धिदर उच्च बनाएका छन् । लोकल कुखुराको मासु र अर्गानिक खानाको लागि उपयुक्त यो ठाउँ रारा लगायतका उच्च स्थानमा जाने बाटो नै यही हो । यस क्षेत्रमा पर्यटक अझै भित्राउन बिभिन्न दृश्यहरु अवलोकन गर्नको लागि प्रदेश सरकार र गाउँपालिकाको पहलमा भ्यु टावर निर्माण कार्य थालनी हुँदैछ । पर्यटकीय क्षेत्रमात्र नभएर तरकारीको लागि पनि यो क्षेत्र उपयुक्त रहेको वडा नम्बर ४ का अध्यक्ष खड्ग बहादुर शाहीले बताए ।
वडा नम्बर पाँचः जन्ती बस्ने गुफादेखि बिभिन्न धार्मीक स्तलहरु
गाउँपालिकाको सबैभन्दा धेरै जनसंख्या रहेको वडा नम्बर ५ पनि पर्यटकीय क्षेत्रको हिसाबले धेरै अगाडी रहेको छ । यो वडाको जन्ती बस्ने गुफालाई महत्वपूर्ण पर्यटकीय गन्तब्यको रुपमा लिन सकिन्छ । यहाँ परापूर्व कालमा बिबाहमा गएको एक हुल जन्ती बसेको र सबैको त्यही स्थानमा मृत्यु भएको त्यहाँका बुढापाकाहरुको कथन छ । अहिलेपनि अवशेषको रुपमा त्यहाँ जन्ती, बेहुलाबेहुली र उनिहरुले बोकेका सामानहरुको चित्रहरु प्रष्ट देख्न सकिन्छ । त्यतीमात्र हैन्, यहाँका बिभिन्न धार्मीक मन्दिरहरु पनि छन् । यीनको संरक्षणका लागि गाउँपालिकाले केहि बजेट छुट्याएको बताएको छ । यससँगै मालिकादेबीको मन्दिरलाई पनि पर्यटकीय क्षेत्रको रुपमा लिने गरिएको वडा अध्यक्ष सुरेन्द्र महतारा बताउछन् । उनका अनुसार जनै पूर्णिमाको दिनमा यहाँ धार्मीक मेला समेत लाग्ने गर्दछ । यस मन्दिरमा पुजा गर्दा सबै रोग निको हुने धार्मीक विश्वास रहि आएको छ । अझै यसको प्रचार प्रशार गर्न आवश्यक रहेको अध्यक्ष महतारा बताउछन् ।
वडा नम्बर ६ः समथर भुभागदेखि अग्लो भिमचुलासम्म हेरमहेरम जस्तो
वडा नम्बर ६ भौगोलिक विवधता रहेको वडा हो । जसले पर्यटकलाई अझै आकर्षण गर्न सक्छ । कुन्तडा, लामातडाका हेर्न लायक ति फाटहरु, अलि माथी बगौराचौरसँगै जोडिएको रेग छन् । यस वडामा पनि पुरातात्वीक सम्पताहरु ढुङ्गे धारा, मुग्राहरु अझै छन् । यस वडाको सबैभन्दा हेर्न लायक ठाउँ भनेको भिमचुला नै हो । भिमचुलाका ति दोभानहरुसँगै त्यहाँबाट अधिकांस ठाउँको अवलोकन गर्न सकिन्छ । भिमचुलाको माथी लिलेकोट डाँडोमा भ्यु टावर निर्माण शुरु गरिएको छ । जाँहाबाट भारतको लखनऊ र चिनको तिब्बतसम्म अवलोकन गर्न सकिन्छ । यस्तै, यहाँको जन्ते ढङ्गा, जाँहा लहरै जन्ती उभिएको जस्तो अवशेषको देखिन्छ । यहाँ अहिले पुजा आजा गर्ने गरिन्छ । यहाँका पुराँना संस्कृतीमा आधारित घरहरु निर्माण गर्नेगरी पहल गरिएको वडा अध्यक्ष हिम बहादुर ओलीले बताए । उनले भने, ‘हाम्रा पुराना घरहरु जस्तैः चारपाखे घर, ढिकी, जाँतो, पानी घट्ट लगायत सजावटको रुपमा राख्ने हाम्रो योजना छ’ । उनले थपे, ‘यसले पर्यटन प्रवद्र्धनमा अझै टेवा पुर्याउने हाम्रो विश्वास छ ।’
वडा नम्बर ७ः लात्तेको झरणा, मालिकादेबी मन्दिर, विभिन्न गुफाहरु
पर्यटकीय गन्तब्यमध्य प्रचारको कमी भएको तर पर्यटकीय क्षेत्र प्रसस्त रहेको वडा नम्बर ७ का पर्यटकीय क्षेत्रहरु संरक्षण अभावमा छन् । यस वडामा रहेको लात्तेको छहरा समुन्द्री सतहदेखि करिब २७ सय मिटर उचाईमा रहेको छ । यस छहरा दुइसय मिटर लामो रहेको छ । जसको प्रचार अहिलेसम्म हुन सकिरहेको छैन् । यस झरणादेखि २ किलोमिटर यता मगर बस्ती रहेको छ । यस बस्तीमा मगर समुदायका २२ घरधुरीले यस क्षेत्रमा आउने पर्यटकका लागि भन्दै मालिका होम स्टे संचालनमा ल्याएका छन् । होम स्टेमा मगर संस्कृतीको नाच, मगर सभ्यता झल्किने क्रियाकलाप र लोकल कुखुराको मासु, ढिडो, लगायतका मगर परिकारहरु खुवाउने गरिएको होम स्टे संचालक समितिका अध्यक्ष चक्र बहादुर बुढा मगरले बताए । त्यती मात्र हैन, बैशाखसम्म हिउँ पर्ने गुराँस लेख र तलतिर टोटनाउला पाटनहरु हेर्दा मन आनन्द हुन्छ । भने मालिकादेबी मन्दीरमा भक्तजनहरुको घुइचो लाग्ने गर्दछ । यहाँको जडीबुटीको औषधी प्रयोग गर्दा बाथ रोग, पेट सम्बन्धीको समस्या कम हुने गरेको बताइन्छ । साथै यहाँ करिब ६ वटा जत्ती गुफाहरु रहेका छन् । जसमध्य झ्यारदुल्ला गुफामा एक हुल भेडा हराएको किम्बदन्ती छ । भने अहिले टोटनाउला नजिक एउटा नयाँ गुफा पत्ता लागेको छ । यहाँका अन्य गुफाहरु पनि संरक्षण अभावमा रहेका छन् । यसको संरक्षणका लागि प्रदेश र स्थानीय सरकारले पहल गर्नुपर्ने वडा अध्यक्ष हुकुम बहादुर खत्रीले बताए ।
वडा नम्बर ८ः शिव मन्दीर पर्यटन पार्क र मिलेका पाटन
वडा नम्बर ८ का मिलेका पाटन अन्तरगत पोखराचौर, घ्युपोखरी, लगायतका ठाउँहरु रमणिय छन् । यी स्थानहरुको अवलोकन गर्दा आनन्दको महसुस हुन्छ । पाखापानीदेखि केहि मिटर अगाडी पर्यटन पार्क निर्माणको चरणमा छ, भने यहाँका अन्य पाटनहरु हेर्दाको आनन्द त बेग्लै छ । त्यसैगरी धरमपोखरामा रहेको शिव मन्दिरको दर्शन गर्दा पापहरु नष्ट हुने विश्वास राखिन्छ । पाखरीको नाममा परिचित धरमपोखराको दृश्य पनि आनन्दमय रहेको छ । यस क्षेत्रको पर्यटन प्रवद्र्धन गरि धेरैभन्दा धेरै पर्यटक भित्राउने योजना रहेको वडा अध्यक्ष पूर्ण बहादुर ओलीले बताए ।
के छ गाउँपालिकाको योजना ?
यी बाहेक पर्यटकीय अन्य पर्यटकीय गन्तब्यको खोजी भइरहेको गुराँस गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष खेमराज ओलीले पर्यटकीय क्षेत्रको खोजी र संरक्षण अभियान शुरु भएको बताए । उनले भने, ‘गाउँपालिकाभित्र रहेका पर्यटकीय गन्तब्यहरुको खोजी र संरक्षण गर्दैछौ, अहिले पत्ता लागेका पर्यटकीय गन्तब्यहरुलाई हामी प्रचार गर्न फोटो प्रदर्शनी प्रचा पम्पलेट बनाउने काम गरेका छौ ।’
उनले पर्यटन प्रवद्र्धनको लागि गाउँपालिकाले अहिले ३५ लाख रकम छुट्याएको भन्दै गुराँस गाउँपालिकाको गुराँसेलाई पर्यटन हबको रुपमा विकास गर्ने योजना रहेको बताए । (गुराँस आवाज साप्ताहिक पत्रिकाबाट साभार)