कोरोना त्रासः कर्णालीका नाकामा कडाई

सुर्खेत, २२ फागुन (जागरण) । कर्णालीमा कोरोना भाइरस भित्रन नदिन सीमावर्ती नाकामा कडाई गरिएको छ ।
प्रदेश सरकारले कर्णाली भित्रिने मुख्य नाकामा स्वास्थ्यकर्मी खटाएर जाँच गर्न थालेको हो । कोरोनाबाट जोगिन ती नाकामा हेल्थ डेस्कसमेत स्थापना गर्न थालिएको छ ।
कोरोनाबाट अति प्रभावित छिमेकी देश चीनसँग सीमा जोडिएको हुम्लासहित चार वटा नाकामा जाँचमा कडा गरेको प्रदेश सरकारले जनाएको छ ।
चीनसँग सिमाना जोडिएको हुम्लाको हिल्सा, प्रदेश ५ सँग जोडिएको बबई, दाङबाट भित्रिने सल्यानको कपुरकोट र काठमाडौंबाट भित्रिने सुर्खेत विमानस्थलमा गरी ४ ठाउँमा जाँच हुनेछ ।
आजै सुर्खेत विमानस्थलमा हेल्थ डेस्क स्थापना गरिएको छ । आज बिहान साढे ९ बजे पहिलो हेल्थ डेस्क स्थापना गरी बाहिरबाट कर्णालीमा भित्रिएका यात्रुहरुको स्वास्थ्य परिक्षण गरिएको छ ।
काठमाडौँबाट फर्किने क्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको स्वास्थ्य परिक्षण सँगै अरु यात्रुहरुको पनि स्वास्थ्य परिक्षण कार्यलाई निरन्तरता दिइएको छ ।
स्वास्थ्य परिक्षणको क्रममा जापानबाट आएका एक २१ बर्षिय युवकलाई १ सय ५ डिग्री ज्वरो देखिएका कारण ती युवकलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ । बिमानस्थलमा कर्णाली प्रदेश अस्पतालका डाक्टर के. एन. पौडेल सहितको टोली खटिएको छ ।
आज नै हुम्लाको हिल्सामा पनि हेल्थ डेस्क स्थापना गरिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रिता भण्डारीकाअनुसार सल्यानको कपुरकोट र बबईमा पनि स्थापना गरिँदैछ ।
कपुरकोट र बबईमा राखिने डेस्कमा जनचेतनालाई प्राथमिकता दिइनेछ । कोरोना संक्रमित भए उपचार गर्न वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा २ बेडसहितको विशेष कक्ष स्थापना गरिएको छ ।
प्रदेश सरकारले कोरोना संक्रमणको जोखिम बढेको भन्दै प्रदेशमा कार्यरत स्वास्थ्यकर्मीलाई बिदामा नबस्न निर्देशन दिएको छ ।
सामाजिक विकासले स्वास्थ्यका कर्मचारीलाई बिदा नदिन र तालिममा नपठाउन सबै जिल्लालाई निर्देशन पनि दिएको छ । प्रदेशले बिदामा बसेका स्वास्थ्यकर्मीलाई पनि तत्काल कार्यालयमा हाजिर हुन आग्रह गरेको छ । ं