खेतीवाली र पशुपालनमा अनुदान र विमाले कृषक हर्षित

रुकुमपश्चिम, २३ फागुन (जागरण) । रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले खेतीबाली तथा पशुपालनका क्षेत्रमा अनुदान र विमाको कार्यक्रम कार्यन्वयन गर्न शुरु गरेपछि कृषकहरु हर्षित भएका छन् ।
मुसीकोट नगरपालिकाले निःशुल्क पशु र बाली बिमा गरिदिने तथा दूधमा अनुदान दिने व्यवस्था गरेपछि कृषकहरु हर्षित भएका हुन् ।
दूध उत्पादक कृषकहरुलाई प्रोत्साहन दिने र दूध उत्पादनलाई बढाउनका लागि नगरपालिकाले दूधमा अनुदानको व्यवस्था गरिएको नगर पशु विकास शाखाका प्रमुख यज्ञबहादुर खड्काले बताउनुभएको छ ।


नगरपालिकाले दूध उत्पादक कृषकहरुलाई प्रतिलिटर ३ रुपैयाँ अनुदान दिने तयारी गरेको छ । त्यसका लागि कृषकले वार्षिक ५ सय लिटर दूध उत्पादन गरेको हुनैपर्ने छ ।
दूध बजारमा बिक्री गरेको रेकर्डअनुसार नगरपालिकाले दूधमा प्रतिलिटर ३ रुपैयाँ अनुदान दिने नगर पशु शाखाले जनाएको छ । वार्षिक ५ सय भन्दा कम दुध उत्पादन गर्ने कृषकले भने अनुदान पाउने छैनन् ।
५ सय लिटरभन्दा बढी दूध उत्पादन गर्ने व्यक्ति सहित कृषक समूह समिति, सहकारी तथा व्यवसायिक फर्मले अनुदान पाउनेछन् । अनुदानका लागि नगरपालिकाले चालु आर्थिक वर्षका लागि एक लाख ६० हजार बजेट विनियोजन गरेको छ । अनुदानका लागि आवश्यक प्रक्रिया सहित नगरपालिकामा सम्पर्क गर्न सबै कृषकलाई आग्रह समेत गरेको छ ।
यसैगरी नगरपालिकाले यसअघि कृषि र पशु बिमामा ७५ प्रतिशत अनुदान कृषकहरुले पाउने गरेकोमा अब त्यसको २५ प्रतिशत रकम नगरपालिकाले व्यहोर्ने निर्णय पनि गरेको छ ।
संघीय सरकारले ७५ प्रतिशत र नगरपालिकाले २५ प्रतिशत बिमा रकम तिरिदिने नगर प्रमुख देविलाल गौतमले बताउनुभयो । बिमाका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा ४ लाख बजेट विनियोजन गरेको छ । पशुतर्फ २ र कृषितर्फ २ गरी ४ लाख बजेट बिमामा खर्च हुन लागेको छ ।