सुर्खेत, ५ जेठ (जागरण)।
सुर्खेतको वीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिग (केपिएल) आज भएको पहिलो खेलमा मध्यपश्चिम क्रिकेट क्लबले आफ्नो पहिलो जित दर्ता गरेको छ । वीरेन्द्रनगर स्थित रंगशालामा भइरहेको खेलमा रोयल राइजिंग क्लबलाई ८ विकेटले पराजित गर्दै मध्यपश्चिमले पहिलो जित दर्ता गरेको हो । टस हारेर ब्याटिंगको निम्तो पाएको रोयल राइजिंग क्रिकेट क्लबले १८.५ ओभरमा सम्पूर्ण विकेट गुमाई ८७ रन मात्रै बनायो ।
मध्यपश्चिम क्रिकेट क्लबका बलर दिपेन्द्र रावतले ४ विकेट हात पार्न ४ ओभरमा १५ रन खर्चिए । सुनिल सुनारले ३ विकेट तथा भिम धमलाले २ विकेट लिए । रोयल राइजिंगको लागि ओपनिंग ब्याटिंग गरेका प्रकाश जैसीले सर्वाधिक ३० रन योगदान दिए भने खुसिराम बिकले १६ तथा दिवान पुनले १३ रन बनाए ।
८८ रनको लक्ष्य पाएको मध्यपश्चिमले ९ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । जितमा ओपनर मनोज सुनारले अविजित अर्धशतक बनाउने क्रममा ५३ रनको स्कोर बनाउन मात्र २४ बलमा ५ छक्का र ४ चौका प्रहार गरे। यस्तै कप्तान शुबेन्दु पाण्डे र राजबिर सिंहले समान १४ रन बनाए । खेलको म्यान अफ द म्याच दिपेन्द्र रावत भए ।
प्रतियोगितामा आज अन्य दुई खेल हुँदै छन् । अहिले एबिसी स्पोर्ट्स क्लब र धनगढी क्रिकेट एकेडेमी बीच खेल भइरहेको छ भने दिउँस २ बजे खेल रुपन्देही ११ र त्रिभुवन आर्मी क्लब बीच खेल हुने आयोजकले जानकारी दिएको छ ।
गएको बिहीबारदेखि सूरु भएको कर्णाली प्रिमियर लिगमा १० टिमको सहभागिता रहेको छ । बन्धुविकास बहुउद्देश्यीय सहकारी संस्था सुर्खेतको आयोजना भएको प्रतियोगिता जेठ १२ गतेसम्म संचालन हुनेछ । कर्णाली प्रदेशमै पहिलो पटक सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी पाउनेछन् ।