युवराज भण्डारी ।
हुम्ला, २८ फागुन (जागरण) । चैत ६ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परिक्षा (एसईई) मा केन्द्राध्यक्षका लागी हुम्लामा शिक्षकहरुले दौडधुप सुरु गरेका छन् ।
कक्षा सञ्चालन छोडेर केन्द्राध्यक्षको आशामा रहेका माध्यामिक तहका शिक्षकहरुले जिल्ला शिक्षा समन्वय कार्यालयमा दौडधुप सुरु गरेका हुन् । परीक्षा शुरु हुनुभन्दा एक हप्ता अघि नै उनीहरु जिल्ला सदरमुकाम सीमीकोटतर्फ लागेका छन् ।
विषय शिक्षक नै केन्द्राध्यक्षको आशामा जिल्ला सदरमुकाम जाँदा सामान्य पठन–पाठनसमेत प्रभावित भएको विद्यार्थीले गुनासो गरेका छन् ।
हुम्लामा २ वटा परीक्षा केन्द्र सदरमुकाममा छन् भने २ वटा केन्द्र मध्य क्षेत्र मानिने सर्केगाड गाउँपालिकामा छन् । अदानचुली गाउँपालिकामा १ केन्द्र र ताजाकोट गाउँपालिकामा १ केन्द्र गरी ६ वटा परीक्षा केन्द्र रहेका छन् ।