कर्णालीभर साढे एक लाखभन्दा धेरैलाई दादुरा–रुबेला विरुद्धको खोप

सुर्खेत, २९ फागुन (जागरण) । यसपालीको दादुरा–रुबेला रोग विरुद्धको खोप अभियानमा कर्णाली प्रदेशका करिब एक लाख ६२ हजार बालबालिकालाई खोप दिइने भएको छ ।

नेपाल सरकारको अभियान अन्तर्गत जिल्लास्थित जनस्वास्थ्य सेवा कार्यालयको समन्वयमा स्थानिय तहहरुले खोप दिने भएका हुन् ।

कर्णाली प्रदेशका सवै जिल्लामा सञ्चालन हुने खोप अभियानमा कुनै पनि बालबालिकालाई नछुटाउने गरी अभियान चलाउन लागिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारीले बताउनुभयो ।

खोप एक जैविक तयारी वस्तु भएकोले यसको प्रयोगबाट व्यक्तिको शरिरमा सम्बन्धित रोगका विरुद्ध लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास गराउने उहाँको भनाई छ ।

सुर्खेतमा ४० हजार बालबालिकालाई खोप दिइने जिल्ला जनस्वास्थ्य कार्यालयका चेतननिधि वाग्लेले जानकारी दिनुभयो । दादुरा र रुबेला खोप अभियान सुर्खेतमा तीन चरणमा संचालन गरिने उहाँको भनाई छ ।

पहिलो चरणमा चैत १ गतेदेखि ६ गते सम्म वीरन्द्रनगरबाट सुरु भई, दोस्रो चरणमा चैत ८ देखि १५ सम्म सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका, यस्तै तेस्रो चरणमा चैत १५ देखि १९ सम्म चिंगाड गाउँपालिका, भेरीगंगा नगरपालिका, लेकवेशी नगरपालिका र बराहताल गाउँपालिकामा खोप अभियान सञ्चालन गर्न लागेको जनस्वास्थ्य सेवा कार्यालयका खोप अधिकृत जीतलाल ढकालले बताउनुभयो ।

उहाँका अनुसार सुर्खेतमा पाँच सय ८० खोप केन्द्रमा एक सय ५६ जना तालिम प्राप्त खोपकर्मी र ११ सय ६० स्वयंमसेवक परिचालन गरिने छ । सरकारी योजनाअनुसार दादुरा र रुबेला ९ महिनादेखि ५ वर्षमुनिका सबै बालबालिमालाई दिइनेछ । यस्तै जन्मेदेखि ५ वर्ष मुनिका बालबालिकालाई पोलियो खोप दिइने छ ।