प्रतिष्ठानले गर्‍यो मानव सेवा आश्रमलाई सहयोग

सुर्खेत, २९ फागुन (जागरण) । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सुर्खेतको वीरेन्द्रनगरस्थित मानव सेवा आश्रमलाई दैनिक उपभोग्य वस्तुहरु सहयोग गरेको छ । आफ्नो स्थापना दिवसको अवसरमा प्रतिष्ठानको सुर्खेत जिल्ला समिती र कर्णाली प्रदेश समितिले वस्तु सहयोग गरेका हुन् ।

आश्रममा पुगेर खाद्यन्न तथा सरसफाईसँग सम्वन्धित वस्तुहरु हस्तान्तरण गरिएको छ । सहयोग हस्तान्तरणको क्रममा प्रतिष्ठानका पूर्व केन्द्रिय वरिष्ठ उपाध्यक्ष टीकाराम चपाईले सामुदायिक उत्तरदायित्व अन्तर्गत संस्थाको तर्फबाट सहयोग गरिएको बताउनुभयो ।

यसैगरी प्रतिष्ठानको सुर्खेत जिल्ला अध्यक्ष खड्क चन्दले मानव सेवा जस्तो पुनित् कार्यमा संस्थालाई जोड्न पाएकोमा आफूहरुले भाग्यशाली अनुभूती गरेको बताउनुभएको छ ।

सहयोग ग्रहण गर्दै मानव सेवा आश्रमका संयोजक सिर्जना ओलीले सडकमा मागेर र विरामी परेर वेसाहारा परेकाहरुलाई उद्दार गरी नयाँ जीवन दिने अभियानमा जोडिएको भन्दै प्रतिष्ठानलाई धन्यवाद दिनुभयो ।

आश्रममा अहिले कर्णाली प्रदेशभरका एक सय ७० जनाले आश्रय लिइरहेका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा प्रतिष्ठानका सल्लाहकारहरु, साधारण सदस्य, आजिवन सदस्य तथा जिल्ला र प्रदेश समितिका पदाधिकारी एवम् सदस्यहरुको सहभागिता थियो ।