कर्णालीका रैथाने बाली संरक्षण गरेमात्र कृषि अर्थतन्त्र जोगिन्छः कृषिविज्ञहरु

पंख बहादुर शाही ।
सुर्खेत, २९ फागुन (जागरण) । कर्णाली प्रदेशमा उत्पादन हुने रैथाने बालीहरुको संरक्षण गरेमात्र कृषि अर्थतन्त्रलाई जोगाउन सकिने कृषिविज्ञहरुले सुझाव दिएका छन् ।

पछिल्लो समय स्थानीय जातका कृषि बालीकाहरु लोपन्मुख क्रममा रहेकाले अव रैथान्ने बालीहरुको संरक्षण गर्नुपर्नेमा जोड दिइएको हो ।

विश्व जैविक विविधताको हिसावले नेपाल ४९ औँ स्थानमा छ । तर नेपालका विभिन्न क्षेत्रहरुमा गरी करिव ४० प्रतिशत कृषि जैविक विविधतामा ह्रास भइसकेको छ ।

बाँकी रहेको ६० प्रतिशतलाई संरक्षण गरी विश्वमा चिनिएका कर्णाली प्रदेशका विभिन्न रैथान्ने बालीहरु बचाई राख्नुपर्ने वरिष्ठ वैज्ञनिक तथा राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रका प्रमुख कृष्ण कुमार मिश्रले बताउनुभयो ।

कर्णाली प्रदेशको कृषिमा यन्त्र उपकरण प्रयोग गरेरै अर्गानिक उत्पादन गर्न सकिने र व्यवसायिकरण पनि अर्गानिक वस्तुकै गर्न सकिने बताउनुभयो ।

राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रकै कृष्णहरी घिमिरेले कर्णाली प्रदेशका विभिन्न जिल्लाका दुधे चिनो, रातो कोदो, लाल मार्सी लगायतका बालीहरु पनि स्रोत केन्द्रअन्तर्गतको जीन बैँकमा दर्ता हुन लागेको बताउनुभयो । आफूहरुसँग अहिले १ सय ४० बालीका १२ हजार भन्दा धेरै जातहरुको संरक्षण गरिएको उहाँले बताउनुभयो ।

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्र भारीले कर्णालीमा दिगो अर्गानिक कृषि बनाउँनका लागि नेपाल कृषि अनुसन्धान केन्द्र परिषद् (नार्क) ले सहयोग गरिरहेको बताउनुभयो ।

यस्तै कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायाले प्रदेशका १० ओटै जिल्लामा कृषि क्षेत्रमा भइरहेका क्रियाकलापहरुबारे जानकारी दिनुभएको छ ।

यसैबीच, कर्णाली प्रदेशको कृषि विकास निर्देशनाय र राष्ट्रिय कृषि अनुवंशिक स्रोत केन्द्रले सरोकारवालाहरुको लागि कृषि जैविक विविधता व्यवस्थापन विषयक अभिमुखिकरण गरेको छ ।