सुर्खेत, १ चैत (जागरण) । मानव सेवा आश्रमले एक वर्षको अवधिमा कर्णाली प्रदेशका ७४ जना वेसाहारालाई आफन्तसँग पुनर्मिलन गराएको छ ।
कर्णाली प्रदेशमा सेवा विस्तार गरेको एक वर्षभित्रमा विभिन्न कारणले आफन्तसँग छुटिएका र वेसाहारा बनेका ७४ जना वेसाहारालाई आफन्तसँग पुनर्मिलन गराइएको हो ।
देशभर १४ ठाउँमा सेवा पुर्याएको आश्रमले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर १२ सुर्खेतमा गत वर्ष माघ महिनाको १८ गते आश्रम स्थापना गरेको थियो ।
आश्रमले मानसिक रुपमा विरामी परेका र घरबास तथा आफन्तसँग सम्पर्क नभई सडकमा मागेर जीवन चलाउनेहरुलाई उपचार, मानसामाजिक विमर्श लगायतका कार्य गरिरहेको छ ।
आफूहरुले उद्दार गरेर केही समय आफैसँग राखेर उपचार र मनोसामाजिक विमर्श गरी आफन्त खोज्दै उनिहरुसँग पुनर्मिलन गराउने गरेको मानव सेवा आश्रम सुर्खेतकी संयोजक सिर्जना ओलीले जागरणलाई बताउनुभयो । उहाँका अनुसार उपचार गराएर आफन्तहरुसँग पुनर्मिलन गराउँदा उनिहरु निकै खुसी हुने गरेका छन् ।
नेपाल सरकारले सडकमा मागेर गुजारा चलाउनेहरुलाई संरक्षण गरी नयाँ जीवन दिने नीति लिएअनुसार कर्णाली प्रदेशलाई सडक मानव मुक्त प्रदेशको रुपमा घोषणा गरिएको छ ।
घोषणालाई कार्यन्वयन गर्न आफूहरु लागि परेको पनि उहाँले बताउनुभयो । आश्रमभित्र अहिले कर्णाली प्रदेश भित्रका एक सय ७० जना विरामी तथा बेसाहारा व्यक्तीहरुले आश्रय लिइरहेका छन् ।