भारतीय प्रहरी दैलेखमा, नेपाली सुरक्षा निकाय वेखवर

सुर्खेत, ४ चैत (जागरण) । नेपाली सुरक्षा निकायलाई थाहै नदिई भारतीय प्रहरी कर्णाली प्रदेश भित्र छिरेको छ । चोर पक्राउ गर्न भनी भारतीय प्रहरी पोसाकसहित दैलेख सदरमुकाम पुगेका हुन् ।

उनीहरु नेपाल सरकार र कर्णाली प्रदेश सरकार कसैलाई जानकारी नदिएर कर्णाली प्रदेशमा प्रवेश गरेको पाइएको छ । दैलेखसम्म पुग्नका ठाउँठाउँमा नेपाली सेना र नेपाल प्रहरीका चेकपोष्ट तथा व्यारेकहरु रहे पनि त्यहाँ कुनै जानकारी छैन ।

फोटोः गोविन्ददेव भारती ।

दैलेखका एक युवकले ५० लाख भारतीय रुपैयाँ चोरी गरेर दैलेखमा पुगेको भन्दै खोजतलासीका लागि पोसाकसहित भारतीय प्रहरी पुगेका हुन् । भारतीय प्रहरी स्थानीय प्रशासन र प्रहरीलाई कुनैपनि जानकारी नदिई दैलेख पुगेको पाइएको छ ।

भारतीय प्रहरीका सई विजय विवेकको नेतृत्वमा चार जनाको टोली दैलेख पुगेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।

प्रदेश नम्बर–५ र कर्णाली प्रदेश हुँदै दैलेखमा भारतीय प्रहरी सूचना र अनुमतिविना नेपाल आउनु आपत्तिजनक भएको भन्दै स्थानीय नागरिकले विरोध जनाएका छन् ।

यता, कर्णाली प्रदेश आन्तरिक मामिला मन्त्रालयले भने दैलेख पुगेका भारतिय प्रहरीहरुलाई निगरानीमा राखिएको बताएको छ । आन्तरिक मामिला मन्त्री नरेश भण्डारीले उनिहरुलाई निगरानीमा राखिएको भन्दै आगामी दिनमा प्रदेशको सुरक्षालाई मजबुत बनाइने जागरणलाई बताउनुभयो ।