सुर्खेत, ५ जेठ (जागरण) । सामुदायिक रेडियोहरुको समस्या पहिचान गरी समाधानको बाटो खोज्न कर्णाली प्रदेशका सामुदायिक रेडियोकर्मी सुर्खेतको वीरेन्द्रनगरमा भेला भएका छन् ।
कर्णाली प्रदेशका दुर दराजमा अँझै पनि सुचनाको पहुँच नपुगेको बोध गर्दै प्रदेशका दश वटै जिल्लाका रेडियोकर्मीहरु वीरेन्द्रनगरमा भेला भएका हुन् ।
सामुदायिक रेडियो प्रशारक संघ कर्णाली प्रदेशले आयोजना गरेको संघको प्रथम साधारणसभा तथा रेडियो सम्मेलनमा सामुदायिक रेडियोहरु संचालनमा देखिएका चुनौतिसँगै समाधानका लागि संघ र प्रदेश सरकारले चाल्नुपर्ने पहलका बारेमा पनि छलफल गरिएको छ ।
कार्यक्रममा सहभागीले समाजक विकृति हटाई सामाजिक न्यायसहितको कर्णाली प्रदेश निर्माणमा रेडियोको भुमिका महत्वपुर्ण हुने बताएका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देश बनाउने सवालमा संचारमाध्यमले सिपाहीको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
उहाँले समाजलाई सभ्य, नैतिकवान र क्षमतावान बनाउन सञ्चारको महत्वपूर्ण भूमिका रहेको बताउनुभया ।
मुख्यमन्त्री शाहीले कर्णालीमा केही रेडियोहरु दोहोरी खेल्नेमा मात्रै सिमित रहेको बताउँदै आआफ्ना पक्षका दोहोरी खेल्नका लागि लडाईँ गर्ने माध्यम नबनाउन पनि आग्रह गर्नुभयो ।
सञ्चार तथा प्रविधि राज्य मन्त्री गोकुल वास्कोटाले रेडियोहरुको वर्गिकरण गर्नुपर्ने बताउनुभयो । सामुदायिक रेडियो र व्यावसायीक रेडियोलाई एकै नजरमा हेर्न नमिल्ने भन्दै उहाँले वर्गिकरणको आवश्यकता औँल्याउनुभयो ।
मन्त्री वास्कोटाले अहिले केहिले विभिन्न नेताहरुको चरित्र हत्या गर्ने, जिउदो मान्छेको फोटो राखेर मरेको भन्दै प्रचार गर्ने काम गरिरहेको बताउँदै त्यसप्रति सरकार कठोर बन्ने बताउनुभयो । उहाँले प्रेसलाई मर्यादित बन्न आग्रह गर्नुभयो ।
राज्यमन्त्री बास्कोटाले प्रेसजस्तो शक्तिशाली चिजलाई दुरुपयोग नगर्न पनि आग्रह गर्नुभयो । समाजको समग्र विकासका लागि संचारको भुमिका महत्वपुर्ण भएको भन्दै उहाँले प्रेस मर्यादित र पारदर्शी हुनुपर्ने बताउनुभयो ।
आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेश सरकार पत्रकारको हितमा काम गर्न तयार रहेको बताउनुभयो ।
मन्त्री ज्वालाले सञ्चारमाध्यमका लागि आवश्यक कानून, नीति बनाउने, शुद्धिकरण गर्ने पकारको क्षमता विकासमा सरकार लाग्ने बताउनुभयो ।
सामाजिक विकास मन्त्री दल रावलले मिडियाले दुर दराजका जनताका पिडालाई उजागर गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो । अकाेरावका केन्द्रिय अध्यक्ष सुवास खतिवडाले तिन वटै तहका सरकारले सामुदायिक रेडियाेहरुलाई विकासका साझेदारकाे रुपमा बुझ्नुपर्ने बताउनुभएकाे छ । कार्यक्रममा वन, वातावरण, उद्योग तथा पर्यटन मन्त्री नन्दसिंह बुढा, भौतिक पुर्वाधार विकास तथा याेजना मन्त्री खड्ग बहादुर खत्री, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीलगायतले भनाई राख्नुभएको थियो ।
यसैबिच, नौ बुँदे कर्णाली घोषणापत्र जारी गर्दै सामुदायिक रेडियो प्रसारक संघ कर्णाली प्रदेशको प्रथम साधारसभा तथा रेडियो सम्मेलन सकिएको छ ।
यस्तो छ, कर्णाली घोषणापत्रः
सामुदायिक रेडियोहरुको
कर्णाली घोषणा–पत्र
कर्णाली प्रदेशको प्रादेशिक राजधानी वीरेन्द्रनगर सुर्खेतमा २०७५ जेठ ५ गते सामुदायिक रेडियो प्रसारक संघ कर्णाली प्रदेश समितिको आयोजना गरिएकोे अकोराब कर्णालीको प्रथम साधारण सभा र कर्णाली रेडियो सम्मेलन तपसिलका ९ बुदें कर्णाली घोषणा–पत्र जारी गर्दछ ।
१) दुर दराजका नागरिकलाई राज्यका सबै तहका सूचना प्रवाह गर्ने काम नेपालका सामुदायिक रेडियोले मात्रै गरिरहेका छन् । तर देश सघिय संरचनामा गएसँगै तिनै तहको प्रदेशको निर्वाचन सम्पन्न भए पश्चात संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले ल्याएको स्थानीत तह सञ्चालन निर्देशिकाले स्थानीय तह मार्फत सरकार आफैले रेडियो सञ्चालन गर्ने नभएर सामुदायिक रेडियोलाई कुनै न कुनै ढंगले अंकुस लगाउने व्यवस्था गरिएको छ । उक्त व्यवस्थालाई तत्काल संशोधन गरी सबै स्थानीय सरकार र प्रदेश सरकारसँग साझेदारी तथा सहकार्य गर्न कर्णालीका हामी सबै सामुदायिक रेडियो आब्हान गर्दछौं ।
२) २१ औं शताब्दीको सूचना र सञ्चार प्रविधिको यूगमा निर्विकल्पीक सञ्चार माध्यमको रुपमा स्थापित भएका कर्णाली प्रदेशका सामुदायिक रेडियो र रेडियोकर्मीहरुका सबै प्रकारका क्षमता विकास गर्न विशेष कार्यक्रम (मानविय, सामाग्रीय र प्राविधिक क्षमता) को व्यवस्था सहित स्रोत सहितको अधिकार सम्पन्न कर्णाली सञ्चार प्रशिक्षण प्रतिष्ठानको गठन गर्न स्थानीय तह, कर्णाली प्रदेश सरकार, संघिय सरकार र सम्बद्ध निकायसँग यो सम्मेलन जोडदार माग गर्दछ ।
३) भौगोलिक विकटता, सूचना र सञ्चार प्रविधिका अन्य माध्यम नभएको कर्णालीमा अनियमित विद्युत आपूर्ति, सिमित बजार, चट्याङ्ग जस्ता प्राकृतीक विपत्तीको सामना गर्दै नागरिकको सूचनाको हकको प्रत्याभूति गरिरहेका कर्णालीका सामुदायिक रेडियोले खेलेको भूमिकाको कदर गर्दै सथासक्य समानुपातिक विज्ञापन नीति लागु गेरर नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, सूचना विभागद्धारा प्रदान गर्ने विज्ञापन प्रदान गर्न यो सम्मेलन माग गर्दछ ।
४) कर्णाली प्रदेशमा स्थापित भएका सामुदायिक रेडियोमा प्रयोग हुने सञ्चार सामग्री (मिक्चर, ट्रान्समिटर, एण्टेना, टावर, रेकर्डर, कम्प्युटर, इन्टरनेट तथा टेलिफोन बिल, भिस्याट फोन, सवारी साधन जस्ता सामग्री) को खरिद गर्दा अकोराबको सिफारिसमा ५० प्रतिशत सहुलियत तथा भञ्सार छुटको नीतिगत व्यवस्था गर्न र सञ्चार सामाग्री खरिदमा प्रेस काउन्सील, मिडिया विकास कोषले दिदैं आएको १० प्रतिशत ब्याज अनुदान सहुलियतलाई कर्णाली प्रदेशका सबै सामुदायिक रेडियोको हकमा सतप्रतिशत वृद्धी गर्न यो सम्मेलन सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, प्रेस काउन्सील, मिडिया विकास कोष समक्ष आग्रह गर्दछ ।
५) सूचना विभागबाट रेडियोकर्मीलाई प्रदान गरिने प्रेस पास, सबै प्रकारका रेडियोहरुका लाइसेन्स र इजाजत नविकरण, रोयल्टी सम्बन्धित जिल्लाबाटै सम्पन्न हुने नीतिगत व्यवस्थाकालागि सम्मेलन नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालय समक्ष जोडदार माग गर्दछ ।
६) कर्णाली प्रदेशका हामी सामुदायिक रेडियोहरु प्रदेश तथा स्थानीय सरकारसँग विकास साझेदारका रुपमा सहकार्य गर्न तयार छौं । यसकालागि स्थानीय देखि प्रदेश स्तरसम्म विकास र सामाजिक विकृती विरुद्धका अभियान सञ्चालनमा सहकार्यकालागि उपर्युक्त वातावरण निर्माण गर्न यो सम्मेलन स्थानीय, प्रदेश तथा संघिय सरकार समक्ष आग्रह गर्दछ ।
७) नयाँ संरचनासँगै अहिले स्थानीय, प्रदेश र केन्द्रिय सरकारले विभिन्न नीति नियमहरु बन्ने क्रम चलिरहेको छ । तर सूचना र सञ्चारको क्षेत्रमा सबै तहका सरकारले निर्माण गर्ने कानुनमा सामुदायिक रेडियोको अर्थपूर्ण पहिचान सहित प्रदेश स्तरमा सामदायिक रेडियोको व्यवस्थापन, वृद्धी विकास र नियमनकालागि प्रदेश स्तरिय सञ्चार प्राधिकरण स्थापनाको पहलका लागि यो सम्मेलन प्रदेश सरकारसँग माग गर्दछ ।
८) कर्णाली प्रदेश सरकारले अघि सारेको कर्णाली पर्यटन वर्ष २०७५ लाई सफल पार्न कर्णाली प्रदेशका हामी सबै सदस्य सामुदायिक रेडियोहरु प्रतिवद्ध छौं । सरकारको कार्यक्रमलाई सफल बनाउन हामी प्रदेश सरकार, स्थानीय तह र अन्य सरोकारवाला निकायसँग सहकार्यका लागि तयार छौं । साथै यस कर्णाली प्रदेशमा रहेका प्राकृतिक, धार्मिक, र साँस्कृतिक, पर्यटकिय क्षेत्रको पहिचान गरी आवश्यक पूर्वाधार निर्माण गर्न सम्मेलन सबै तहका सरकारको ध्यानकर्षण गर्दछ ।
९) कर्णाली प्रदेशका सामुदायिक रेडियोहरुको अवस्था, संभवना र चुनौतीका बारेमा छलफल गर्दै सम्पन्न भएको सामुदायिक रेडियो प्रसारक संघ कर्णाली प्रदेशको प्रथम साधारण सभा र कर्णाली रेडियो सम्मेलन सफल पार्न आप्mनो गौरवमय सहभागिता जनाउनु हुने कर्णाली प्रदेशका मुख्य मन्त्री मा. महेन्द्रबहादुर शाही, नेपाल सरकारका प्रवत्ता एवम् सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री मा. गोकुल बास्कोटा, कर्णाली प्रदेशमा मा. मन्त्री ज्यूहरु, सामुदायिक रेडियोे प्रसारक संघका अध्यक्ष श्रद्धय शुवास खतिवडा, महासचिव गोविन्द देवकोटा, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका प्रतिनिधी, विरेन्द्रनगर नगरापालिकाका प्रमूख देवकुमार सुवेदी तथा उपप्रमूख मोहनमाया ढकाल, प्रदेश सरकारका सचिव प्रति सम्मेलन आभारी छ । यसैगरी कार्यक्रममा सहभागिता जनाउने नेपाल पत्रकार महासंघ तथा अन्य सञ्चार सम्बद्ध कर्णाली प्रदेशका प्रतिनिधि लगायत प्रदेश मातहतका सम्पूर्ण सदस्य सामुदायिक रेडियोका प्रतिनिधिहरु, आवास तथा कार्यक्रम स्थलको लागी सहयोग गर्ने होेटल सिटी भ्यू, होटेल नमस्ते नेपाललाई सम्मेलन हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
धन्यवाद !