माध्यमिक शिक्षा परिक्षा स्थगित

काठमाण्डौँ, ५ चैत (जागरण) । सरकारले भोली देखि सुरु हुने भनिएको माध्यमिक शिक्षा परिक्षा (एसइई) स्थागित गरेको छ ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई स्थगित गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
एसईई भोली चैत ६ गतेदेखि तोकिएको थियो । यसअघि सरकारले एसईई नरोक्ने तर सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो ।
एसइईको सबै तयारी पुरा भइसकेको थियो । तर कोरना भाईरसको त्रासले परिक्षा स्थगित भएको हो ।
कर्णाली प्रदेशको शिक्षा विकास निर्देशनालयका अनुसार यसपाली कर्णालीका ३६ हजार दुई सय ९९ जना विद्यार्थी परिक्षामा सहभागि हुँदै थिए ।
कक्षा ११ र १२, स्नातक, स्नातकोत्तर लगायतका परिक्षा के हुने भन्नेबारे चाहिँ निर्णयमा उल्लेख गरिएको छैन ।
यसैबीच, सरकारले चैत मसान्तसम्म विद्यालय तथा कलेज बन्द गर्ने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले आजदेखि चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।
बाल विकास केन्द्र तथा आधारभूत विद्यालय पनि बन्द गर्ने निर्णय गरिएको छ । कोभिड १९ नामक कोरोना भाइरसको संक्रमणबाट विश्वव्यापी रुपमा फैलिरहेका वेला सरकारले यो निर्णय गरेको हो ।