सुर्खेत, ६ चैत (जागरण) । विश्वव्यापी रुपमा सन्त्रास फैलिएको कोरोना भाइरस (कोभीड–१९) भित्रिन नदिनका लागि कर्णाली प्रदेशको व्यवस्थापन फितलो देखिएको छ ।
भाइरस कर्णालीमा भित्रिन नदिन चनाखो भएर लागिरहेको प्रदेश सरकारले भनिरहेको भए पनि व्यवस्थापन फितलो देखिएको हो । प्रदेशका विभिन्न नाकाहरुमा चेकजाँचका लागि प्रदेशका १० ओटै जिल्लाका विभिन्न ठाउँमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको छ ।
नाकाहरुबाट जुनसूकै बेला संक्रमित भित्रिन सक्ने भए पनि नाकाहरमा चेकजाँच समय तोकेर सञ्चालन गर्ने गरिएको छ । नाकाहरुमा विहान ६ बजे देखि साँझ ६ बजे सम्ममात्र चेकजाँज गर्ने गरिएको छ । त्यसभन्दा अगाडि वा पछाडि भित्रिने नागरिकहरु संक्रमित रहेको खण्डमा कर्णालीमा सजिलै भित्रिने खतरा हुन्छ ।
सामाजिक विकास मन्त्रालयका सुचना अधिकारी विनोद आचार्यले अहिलेसम्म विहान ६ बजेदेखि साँझ ६ बजेसम्म तोकिएको भए पनि अव सुधार हुने बताउनुभयो ।
उहाँकाअनुसार अव अरु समयमा पनि चेकजाँच गर्नका लागि ३२ जना हेल्थ असिस्टेन्ट (एचए) खटाउन शुरु भएको छ भने अरु पनि थप गर्नेगरी व्यवस्थापनमा मन्त्रालय लागिरहेको छ ।
सरकारले चीनसँग सीमा जोडिएको उत्तरी नाका हिल्सा, सल्यानको कपुरकोट, सुर्खेतको विमानस्थल र कुइनेमा हेल्थडेस्क स्थापना गरेको छ । अहिले डेस्क सञ्चालन गरिएकाभन्दा अरु जिल्लाहरुमा पनि सतर्कता अपनाउनका लागि पहल थालिएको छ ।
स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारीकाअनुसार प्रदेशका १० ओटै जिल्लाका विभिन्न ठाउँमा ‘हेल्थ डेस्क’ स्थापना गरी चेकजाँच गर्ने गरिएको छ ।
डेस्कमा अत्यावश्यक स्वास्थ्य सामग्रीहरुको व्यवस्थापन गर्नमा केही ढिलाई भएपनि काम तिव्र गतिमा भईरहेको निर्देशक भण्डारीले बताउनुभयो ।