सरकारभित्रकै व्यक्तीले मलाई बदनाम गराउन हल्ला गर्दैछन्ः कँडेल

सुर्खेत, ७ चैत (जागरण) । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका सह इन्चार्ज एवम् कर्णाली प्रदेश सभा सदस्य यमलाल कंडेलले केहि व्यक्ति आफूलाई बदनाम गराउन लागिरहेको गुनासो गर्नुभएको छ ।

सरकार फेरबदलको चलखेल गर्ने गरेको भन्दै पटक पटक आफुलाई विवादमा ल्याउन सरकारमै सहभागी नेताहरु लागिरहेको उहाँले बताउनुभयो ।

सुर्खेतको वीरेन्द्रनगरमा आज पत्रकार सम्मेलन गर्दै उहाँले सरकार गिराउन लागेकाहरुबारे चुप लाग्ने तर सरकार गिराउन लागेको भनि आफुलाई मुछ्ने काम भएको बताउनुभयो । सरकार गिराउने र बनाउने कुरा विधिसम्बत् विषय भएकाले बाहिर हल्ला गरेर केही नहुने कँडेलले दावी गर्नुभयो ।

तर सरकारले दुई वर्षको अवधिमा गतिलो काम गर्न नसकेको भन्दै उहाँले प्रदेश सरकारका काम सुधार गर्नैपर्ने र गति बढाउनैपर्ने बताउनुभएको छ । सरकारले दुई वर्षमा सन्तोषजनक ढंगले काम गर्न नसकेको आफूले उच्च स्तरमा बारम्बार कुरा उठाइरहेको उहाँको भनाई छ ।

अहिलेको प्रदेश सरकारले राम्रो काम गर्न नसकेमा पार्टीलाई नै अहित् हुने भन्दै नेकपाको सरकार भएका कारण नेकपाले जसरी पनि काम गर्नैपर्ने बाध्यता रहेको बताउनुभयो । यही कुरा आफूले प्रदेश सरकारलाई र संसदिय दलभित्र पटक पटक जानकारी दिदैं आएको नेता कंडेलले बताउनुभएको छ ।