सुर्खेत, ७ चैत (जागरण) । कर्णाली प्रदेश सरकारले एक हजार जना अट्नसक्ने क्वारेन्टाइन निर्माण गर्ने भएको छ । राजधानी वीरेन्द्रनगर सुर्खेतको ढोडेखालीमा नेपाली सेना प्रयोग गरेर क्वारेन्टाइन निर्माण गरिने भएको हो ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले भारतलगायत बाहिरी मुलुकबाट कर्णाली प्रदेश भित्रिने नेपालीहरुलाई राख्नेगरी क्वारेन्टाइन निर्माण गर्न लागिएको हो ।
साथै प्रदेश सरकारले प्रदेश बाहिर रहेका कर्णालीबासीलाई १० दिनभित्र फर्किसक्न आग्रह गरेको छ । यसअघि कर्णालीका प्रवेशद्वारहरुमा चेकजाँच गरिरहेको कर्णाली सरकारले विभिन्न सरकारी अस्पतालहरुमा आइसुलेसन कक्ष निर्माण गरेको छ ।
यसैगरी सरकारी कार्यालयहरूमा सेवाग्राहीहरु अनिवार्य साबुनपानीले हात धोएर मात्र कार्यालय प्रवेश गर्न पाउने सामाजिक विकास मन्त्री दल रावलले जागरणलाई बताउनुभयो ।
सेवाग्राहीले सेवा लिएर फर्कंदा पनि अनिवार्य रुपमा साबुनपानीले हात धुनुपर्ने व्यवस्था गरिएको उहाँको भनाई छ । हतासको वातावरण सिर्जना गर्नेभन्दा सचेतना र आत्मबलको विकास गर्न यस प्रकारको कार्य थालनी गरिएको प्रदेश सरकारले जनाएको छ ।
स्थानिय तहसँग मिलेर सचेतनामूलक कार्यक्रमसमेत अघि बढाइएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।