विउ उत्पादनबाटै आत्मनिर्भर महिलाहरु

पंखबहादुर शाही ।
सुर्खेत, ९ चैत (जागरण) । विउ उत्पादन क्षेत्रबाट नै राम्रो आम्दानी हुन थालेपछि सुर्खेतको गुर्भाकोट नगरपालिका ७ मेहलकुनाका महिलाहरु आत्मनिर्भर बनेका छन् । उनीहरुले विभिन्न समुहहरु बनाएर विउ उत्पादन गर्दै बार्षिक लाखौँ आम्दानी गर्दै आएका हुन् ।

७ नम्वरमा रहेको पवित्र जनकल्याण सहकारी संस्थाले समुह बनाई उनीहरुलाई विउ उत्पादनमा सहयोग गरेपछि उनीहरु व्यावसायिक रुपमा अहिले विउ उत्पादन गर्दै आएका छन् ।

सहकारी सँस्थामा २६ ओटा समुहहरु रहेका छन् । विभिन्न समुहमा रहेका ४ सय ८० जना भन्दा धेरै महिलाहरुले अहिले बार्षिक १ लाख भन्दा धेरै रकम कमाउने गरेका छन् भने २ सय जना महिला कृषकले १ लाख देखि १ लाख ४० हजार सम्म र ८० जना पुरुषबन्दुले प्रत्यक्ष रोजगार पाएका छन् ।

पवित्र जनकल्याण सहकारी संस्थाका प्रबन्धक चन्द्र ओझाकाअनुसार मिनिवर्ली र ४० दिने दुईजातको मुला विउ ३५ हेक्टर क्षेत्रफल जमिनका लगाइएको छ ।

उहाँले महिलाहरुले बार्षिक ५ करोड बराबर विउको कारोबार हुने गरेको छ । पढे लेखेकाहरुले कृषि पेशा गर्नु हुँदैन भन्ने गलत धारणालाई महिला कृषकहरुले तोडेका उहाँले बताउनुभयो ।

झरना कृषक समुहका उपाध्यक्ष कृष्णा ओलीले विउ जति उत्पादन गर्ने गरेपनि महिलालाई अझै पनि बजारमा स्थानीय विउसँग दरभाउमा तालमेल नमिलेको गुनासो गर्नुभयो ।

सबै महिलाले उत्पादन गरेको विउको बजारीकरणको कुनै समस्या छैन । उत्पादीत विउको बजारीकरण पवित्र विउ उद्योगले गर्ने गरेको पवित्र विउ उद्योगका अध्यक्ष नवलसिंह खत्रिले जानकारी दिनुभयो ।