हाम्रो संरचना क्वारेन्टाइन बनाउन सकिन्छः राखेप

काठमाण्डौँ, १० चैत (जागरण) । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आफ्नो मातहतमा रहेको भौतिक संरचनाहरुलाई क्वारेन्टाईन रुपमा प्रयोग गर्न दिने भएको छ ।

राखेपले आज प्रेस विज्ञप्ति निकाल्दै कोरोना भाईरसको महामारीविरुद्ध लड्न त्रिपुरेश्वरस्थित दशरथ रंगशालासहितका भौतिक पूर्वाधारलाई आवश्यक परेको खण्डमा क्वारेन्टाईनको रुपमा प्रयोग गर्न सकिने जनाएको छ ।

राखेपले रंगशालासहित सातदोबाटो खेलकुद परिसर,मुलपानी क्रिकेट मैदान ,किर्तिपुरको टियु मैदान,च्यासल मैदान,सानो गौचरनलगायतका मैदान र सातै प्रदेश तथा जिल्लाका भौतिक पूर्वाधारलाई क्वारेन्टाईनको रुपमा प्रयोग गर्न सकिने जनाएको छ ।

चीनबाट फैलिएको कोरोनालाई मध्येनजर राखेपले यस अघि एक हप्ता सम्पुर्ण खेलकुद गतिविधि बन्द गर्ने निर्णय गरेको थियो । यस्तै सरकारले बैशाख १८ गतेसम्मको लागि रंगशालासहित सबै खेल स्थल बन्द गर्ने निर्णय गरेको थियो । विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाबाट नेपालमा पनि एक जना संक्रमित भएका छन् ।