प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच भेट, क्वारेन्टाइन निर्माणको अपडेट

सुर्खेत, १० चैत (जागरण) । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबीच आज भेटघाट भएको छ ।

विश्वभर महामारीका रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि प्रदेश सरकारले अपनाएका सावधानीका बारेमा मुख्यमन्त्री शाहीले प्रदेश प्रमुखलाई जानकारी गराउनुभएको हो ।

भैटको क्रममा प्रदेश प्रमुख (दायाँ) र मुख्यमन्त्री (बायाँ) ।

भेटघाटको अवसरमा प्रदेश प्रमुख कलौनीले कर्णाली प्रदेशमा कोरोना भाइरसलाई भित्रिन नदिनका लागि प्रदेश भित्रिने नाकाहरुमा कडाइका साथ चेकजाँच गर्नुपर्ने एवम् विदेशबाट फर्किएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्न र संक्रमण फेला परेमा तुरुन्त उपचारको पर्याप्त व्यवस्था गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

त्यस अवसरमा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा भित्रिने नाकाहरुमा कडाइका साथ चेकजाँच हुनुका साथै हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गरेर सुर्खेतको वीरेन्द्रनगर खुल्ला मन्चमा प्रदेश सरकार र नेपाली सेनाको संयुक्त सहकार्यमा ४ सय जना राख्न मिल्ने क्वारेन्टाइन बनाउदै गरेको र मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नवनिर्मित भवनमा ६ सय जना राख्न मिल्ने क्वारेन्टाइन बनाउने तयारीमा रहेको बताउनुभएको छ ।

क्वारेन्टाइन निर्माणको अपडेटः

प्रदेश प्रमुख कलौनीले कर्णाली प्रदेशमा कोरोना भाईरसको संक्रमण हुन नदिनका लागि खुल्ला मन्चमा निर्माणाधीन क्वारेन्टाइन र क्वारेन्टाइन बनाउने तयारीमा रहेको विश्वविद्यालयको नव निर्मित भवनको अनुगमन गर्नुभएको छ ।

क्वारेन्टाइन निर्माणको निरिक्षण गर्दै प्रदेश प्रमुख ।

त्यस अवसरमा नेपाली सेनाका पृतनापति सुरेन्द्र प्रताप जंग राणाले निर्माणाधीन क्वारेन्टाइनको अवस्था र मोडलको बारेमा प्रदेश प्रमुखलाई जानकारी गराउनुभयो ।

साथै मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर नन्दबहादुर सिंहले भवनको अवलोकन र क्वारेन्टाइन बनाउने कोठाहरुको सरसफाई, विधुत जडान एवम् अन्य कुराहरुको तयारीका विषयमा जानकारी गराउनुभयो ।