सुर्खेत, ५ जेठ (जागरण) । सुर्खेतको वीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिग (केपिएल) टि–ट्वेण्टी क्रिकेट प्रतियोगितामा धनगढी क्रिकेट एकेडेमीले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।
आज भएको खेलमा एबिसी स्पोर्टस् क्लबलाई ३२ रनले पराजित गर्दै धनगढीले लगातार आफ्नो तेस्रो जित दर्ता गरेको हो ।
टस जितेर ब्याटिंग गरेको धनगढी क्रिकेट एकेडेमीले निर्धा्रित २० ओभरमा ९ विकेट गुमाएर १५३ रनको योगफल तयार गरेको थियो ।
धनगढीको लागि ओपनर सुनिल धमलाले सर्वा्धिक ४० रन योगदान दिनुभयो । उहाँले ३५ बलमा ४ चौका प्रहार गर्नुभयो ।
यस्तै बसन्त कार्कीले ३० रन बनाउन २० बलमा ३ छक्का र १ चौका प्रहार गर्नुभयो । लोकेश बमले २५ तथा कप्तान भुवन कार्कीले १५ रन बनाउनुभयो । एबिसीका बलर सुनिल मिश्रा, करन मल्ल र आकाश थापाले समान २/२ विकेट आफ्नो नाम गर्नुभयो ।
लक्ष्य पछ्याउने क्रममा एबिसीले १ सय २१ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो । एबिसीका ब्याट्सम्यान आयुष्मान बमले सर्वा्धिक ३१ तथा महेश खत्रीले २१ रन योगदान दिनुभयो । धनगढीका बलर सुनिल धमला, बिक्रम ठगुन्ना र भुवन कार्कीले समान २÷२ विकेट लिनुभयो । खेलको प्लेयर अफ द म्याच सुनिल धमला घोषित हुनुभयो ।
यस्तै आजै भएको पहिलो खेलमा मध्यपश्चिम क्रिकेट क्लबले आफ्नो पहिलो जित दर्ता गरेको छ ।
रोयल राइजिंग क्लबलाई ८ विकेटले पराजित गर्दै मध्यपश्चिमले आफ्नो पहिलो जित दर्ता गरेको हो ।
टस हारेर पहिले ब्याटिंग गरेको रोयलले १८ दशमलव ५ ओभरमा सम्पूर्ण विकेट गुमाई ८७ रन मात्रै बनायो ।
मध्यपश्चिमका बलर दिपेन्द्र रावतले ४ विकेट हात पार्न ४ ओभरमा १५ रन खर्चिनुभयो । सुनिल सुनारले ३ विकेट तथा भिम धमलाले २ विकेट लिनुभयो ।
रोयल राइजिंगको लागि ओपनिंग ब्याटिंग गरेका प्रकाश जैसीले सर्वा्धिक ३० रन योगदान दिनुभयो भने खुसिराम बिकले १६ तथा दिवान पुनले १३ रन बनाउनुभयो ।
८८ रनको लक्ष्य पाएको मध्यपश्चिमले ९ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । जितमा ओपनर मनोज सुनारले अविजित अर्धशतक बनाउने क्रममा ५३ रनको स्कोर बनाउन मात्र २४ बलमा ५ छक्का र ४ चौका प्रहार गर्नुभयो ।
यस्तै कप्तान शुबेन्दु पाण्डे र राजबिर सिंहले समान १४ रन बनाउनुभयो । खेलको म्यान अफ द म्याच दिपेन्द्र रावत हुुनुभयो ।
यस्तै, आज भएको अन्तिम खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लवलाई ४ विकेटले पराजित गर्दै रुपन्देही ११ ले दोस्रो जित दर्ता गरेको छ । टस जितेर ब्याटिंग गरेको त्रिभुवन आर्मी क्लबले पुरा २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रनको योगफल तयार गर्यो । लक्ष्य पछ्याउने क्रममा रुपन्देहीले २ दशमलव २ ओभरमा २४ रन बनाएर १ विकेट गुमाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो ।
त्यसपछि पुनः आधा घण्टा पछि खेल सुचारु हुँदा प्याराबोला प्रणाली अनुसार रुपन्देहीलाई ११ ओभरमा ९३ रनको लक्ष्य दिईएको थियो ।