सुर्खेत, ११ चैत (जागरण) । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन शुरु भएसंगै बीच वाटोमा अलपत्र परेका यात्रुको उद्दारका लागि कर्णाली प्रदेश सरकारले निःशुल्क हटलाइन सेवा शुरु गरेको छ । आज बसेको कर्णाली प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिले निःशुल्क हटलाइन सेवा शुरु गर्ने निर्णय गरेको हो ।
कार्यकारी समितिका संयोजक तथा सामाजिक विकास मन्त्री दल रावलको अध्यक्षतामा भएको बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा हटलाईन कक्ष रहनेगरी १११० नम्वरकोसेवा शुरु गर्ने निर्णय गरेको छ ।
घर फर्कने उद्देश्यले यात्रा शुरु गरी लकडाउनका कारण बाटोमा अलपत्र रहेका कर्णाली प्रदेश भित्रका नागरिकहरुले यो सेवाको उपयोग गरी सरकारलाई आफनो अवस्थाको बारेमा जानकारी दिनसक्ने सामाजिक विकास मन्त्री रावलले जानकारी दिनुभयो ।
मन्त्री रावलकाअनुसार हटलाईनमा प्राप्त सुचनाका आधारमा सरकारले यातायातको प्रवन्ध गरी अलपत्र यात्रुको उद्दार गर्ने, उनीहरुको प्रारम्भिक स्वास्थ्य परिक्षण गर्ने तथा स्वास्थ्य अवस्थाका आधारमा क्वारेन्टाइनमा राख्नुपर्नेलाई क्वारेन्टाइनमा राख्ने र बाँकीलाई गन्तव्यसम्म पुर्याउने व्यवस्था गर्नेछ ।
रोजगारीका लागि भारत गएका कर्णाली प्रदेशका अधिकांश नागरिक फर्कने क्रममा बीच बाटोमा अलपत्र परेको गुनासो प्राप्त भएपछि प्रदेश सरकारले यस्तो निर्णय लिएको हो ।