नाइटोमा औषधी लगाई टाउको दुखेको समस्या समाधान होला र ?

          ठम्मर विष्ट ।

१) विश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरसबाट बच्न विश्व समुदायले अपनाए जस्तै नेपालले समेत प्रारम्भिक चरणको लकडाउन सुरु गरेको छ । चाइनाको हुबेई प्रान्तको वुहान शहरबाट महामारी प्रकोपको रुपमा देखा परेको यो रोगको कारण विश्वभर करिव ४ लाख मानिसहरु संक्रमित भएका छन भने आजका दिन सम्म करिव २० हजार मानिसहरुको मृत्यु भइसकेको र महामारीबाट मृत्यु हुनेको संख्या बढेको बढ्यै छ । विश्वको कुल जनसंख्याको करिव एक तिहाई करिव ३ अर्ब जनता लकडाउनमा छन् भने कोलम्बिया, भारत, युके, अस्टे«लिया, चाइना, जोर्डन, अर्जेन्टिना, इजरायल, मलेशिया, चेक रिपब्लिक, मोरोक्को, केन्या, कुवेत, एलसेल्भाडोर, क्यानडा, लिथ्मुनीया, माल्दिभ्स, नोर्थ कोरिया, पेरु, कतार, रसिया, साउदीअरेविया, सोल्भाकिया, युक्रेन, क्रोरोसिया, नेपाल, अफ्रिकी मुलुकहरु प्रायः सबै, युरोपियन यूनियनसंग संबद्ध २७ देशहरु लगायत विश्वका करिव २०० राष्ट्र र एक पानी जहाजमा गरीे महामारीको रुप लिइसकेकोमा सबै लकडाउनमा परिसकेका छन् । यो फेरी दिन दुइ गुणा र रात चौगुणाको दरले फैलिरहेको आंकडाले देखाउँछ । जस्तै पहिलो ६७ दिनमा कोरोनाबाट संक्रमितको संख्या एक लाख पुगेको थियो भने दोश्रो एक लाख पुग्न केवल ११ दिन पर्खनु परेको थियो भने बांकी एक लाख पुग्नमा केवल ४ दिन मात्र कुर्नु परेको थियो । बांकी दुइ लाख एक हप्तामा पुगेको छ र यसरी विश्वको विभिन्न ठाउँमा गरी ५ लाख जनसंख्यामा संक्रमित देखा परिसकेको छ । यसले विश्वका कुनै पनि घराना, राजनितिज्ञ, सेलिब्रेटी, भीआइपीहरु, पत्रकार लगायत पछिल्लो चरणमा बेलायती र मोनाकोका राजकुमारलाई समेत संक्रमणमा लपेटीसकेको छ ।

विश्वभर लकडाउन भएको बेला हामी नेपाल सरकारलाई धन्यवाद दिउँ यसको प्रारम्भिक चरण मै लकडाउन सुरु गरेको छ सरकारले । तर अब सरकारले केवल लकडाउन गर्नु र नागरिकलाई घर भित्र हुल्नु मात्र उपलब्धी नसम्झेर अब आउने गम्भीर संकटका बिषयमा सरकारको ध्यान गइरहेको छ कि छैन ? त्यसतर्फ बेलैमा नजर पुर्‍याउन जरुरी छ । सरकार र आम नेपाली जनताले बुझ्नै पर्ने कुरा के छ भने जति सुकै हल्ला बखेटा गरे पनि यो ज्यानमारा रोग विशेषतः दुई चरणबाट गुज्रन्छ । पहिलो प्रचारात्मक र सावधानीको चरण । जो नेपालले अहिले अपनाइरहेको छ त्यसमा सेल्फ क्वारेन्टाइन, क्वारेन्टाइन, मास्क लगाउनु, दुरी कायम गर्नु, साबुनपानीले हात धुनु, किटनासक औषधीहरु छर्कनु आदी आदी पर्छन् । अहिले नेपालको तीनै तहका सरकार यही प्रचारात्मक चरणमा छन् भने दोश्रो र संबेदनशील चरण भनेको पुर्ण रुपमा सुरक्षित आइस्युलेशन वार्डमा विरामीलाई स्थानान्तर गर्नु, संक्रमितहरुलाई परिक्षण गर्ने र विरामीबाट स्वस्थ मानिसलाई अलग्याउने, बिरामीको धेरै चाप बढेमा आइस्युलेशन, आइसीयू जस्ता सेवाको अभावले क्वारेन्टाइनमा नै मृत्यु हुने स्थितीबाट बच्ने र मृत्युको मात्रा धेरै बढेमा तिनीहरुको शवलाई घर वा हस्पिटलमा बेवारिसे हुन नदिने र मर्यादित अन्त्यष्टी गर्ने हो किनकी संक्रमितको शव नजिक वा अर्कोले छुँदा उसलाई पनि रोगले संक्रमण गर्ने हुँदा यसको तयारी सहित पछिल्लो चरणमा इटलीको संक्रमितको मृत्यु र हृदयबिदारक विछोडका घटनाहरुबाट पाठ सिक्न जरुरी छ । तर सरकारको तयारी अहिले सम्म माथि उल्लेखीत प्रचारात्मक चरणमा नै छ । यसको लागी कम्तिमा सरकारले निम्न तयारी बेलैमा गर्न जरुरी छः

१) पहिलोः सरकार व्यवस्थित र चरणवद्ध तयारीमा लाग्न जरुरी छ । यदी एक हप्ता भन्दा लामो र धेरै लामो लकडाउनमा देशलाई लानुपर्ने भयो भने एकातिर आधारभुत वर्ग दिनदिनै काम गरेर खाने वर्गको जोहो गराउने विषयमा सरकारको ध्यान जान जरुरी छ । किनकी आज विदेशबाट जवरजस्त निकाला गरिएका, सरकारी ज्यालादारीमा र अन्य निजी ज्यालादारीमा काम गर्ने ठुलो संख्या देशमा थुप्रिन गएको छ । यिनीहरु कोभिट १९ ले होइन यस्तै स्थिती लम्बिने हो भने अन्य रोग र भोगले मर्ने स्थिती आउन सक्छ त्यसतर्फ सरकारले बेलैमा सोच्न जरुरी छ । कम्तीमा अहिले त्यसको लागि अती गरिवीको चपेटामा परेका व्यक्तीहरुको विवरण तयार गर्न जरुरी छ । यसको लागी संघ प्रदेश र स्थानिय तहको जिम्मा के के हो एउटा प्रोटोकल बनाई तत्काल युद्धस्तरमा लाग्न जरुरी छ । यसको संयोजन संघीय सरकारद्वारा गठित उच्च स्तरको समितीले सिघ्रातिसिघ्र गर्नु पर्ने हुन्छ नै ।

२) हुँदा हुँदा भारत, अरव, खाडी लगायत विश्वभरबाट कोरोनाका कारण अपहेलित हुँदै देश निकालामा परेका ठुलो संख्या सीमानाका आसपासका जंगलमा र ओडारमा रात बिताउन बाध्य छन् । यसरी निरन्तर विदेशबाट आउने ठुलो जनसंख्यालाई न त व्यवस्थित रुपमा ल्याउने सरकारसंग कार्ययोजना छ न त तिनीहरुले बोकेर ल्याउने रोगको पहिचान गर्ने र सावधानी अपनाउनेतर्फ नै सरकारको ध्यान जान सकेको छ ।

३) लामो समय लकडाउन हुने र आर्थिक तथा उत्पादनका क्षेत्रहरु अस्तव्यस्त भएमा त्यसको समेत सरकारले व्यवस्था गर्नु पर्ने हुन्छ । अर्को कुरा सुरुवाती देखी नै खाद्यन्न लगायत उपभोग्य वस्तुहरुमा तस्कर र कालाबजारीहरुको विगविगी देखा परिरहेको छ । यदि यसको नियन्त्रण गर्नेतर्फ सरकार लागेन भने एकातिर लकडाउनको समय बढ्दै जाने अर्कोतिर आधारभुत बर्गले हातमुख जोर्ने स्थिती नहुनु, साथै दिनानुदिन उपयोग र प्रयोग हुने वस्तुहरुको तस्कार र ब्रम्हलुट हुने स्थितीमा अराजकता बढ्न गई यसको आवरनमा लुटपाट, चोरी, डांकागिरी बढ्न सक्छ । त्यसपछि देशले लकडाउनको स्थितीमा ताकत लाउने कि हुल दंगा र अस्थीरतालाई नियन्त्रण गर्नतर्फ लाग्ने ? यो विषयमा सरकार अहिले देखी नैं गम्भीर हुन जरुरी छ । अर्कोतिर सबै तहका सरकारले र कम्तीमा संघ र प्रदेश सरकारले यदि यस्तो लकडाउन लामो समय गयो भने सरकारमा कार्यरत करार र ज्यालादारीमा आधारीत कर्मचारी र तल्लो तहका श्रमीकहरुको डेटा तयार गर्न जरुरी छ । त्यस्ता मानिसहरुको हकमा उनिहरुको उपभोगको लागी आवश्यक पर्ने सामाग्रीहरुको व्यवस्था बेलैमा मिलाउन जरुरी छ ।

४) भनिन्छ कुनै लडाइको मैदानमा जानुभन्दा अघि कमाण्डरले कम्तीमा दुइवटा कुरा हेक्का राख्नु पर्छ पहिलो फौंजले विजय प्राप्त गरेमा त्यसको व्यवस्थापन कसरी गर्ने र बांकी व्यवस्था कसरी सुचारु गर्ने ? दोश्रो पराजित भई क्षत्विक्षत् हुने स्थितीमा आफ्नो बचेकुचेको टीमलाई कसरी पुरै ध्वस्त हुनबाट रोक्ने र पुर्नसंगठित गर्ने ? यहाँ कमाण्डर भनेको सरकार हो । मानौं इटली जस्तै स्थिती आएर चिकित्सकहरु हस्पिटलमा २४ सै घण्टा सिफ्ट नपाएर खट्नु पर्ने, डाक्टरहरुमासमेत संक्रमण भएर बिचलित हुने स्थिती, काम नगरी भाग्दै गरेका चिकित्सकहरुलाई चाइनाको वुहनमा जस्तै कार्वाही गरेर तिनलाई काममा लगाउनुपर्ने देखी लिएर अब कुन विरामीलाई बचाउने भनेर डाक्टरले बिरामीको भीडबाट बिरामीलाई छानेर उपचार गर्नु पर्ने अवस्था, घर परिवार र सबै जनता क्वारेन्टाइनमा हुँदा मरेका मान्छेहरुको व्यवस्था कसरी गर्ने, आइस्युलेशन, आइसीयु र अक्सिजन नपाएर घरमै पालो कुरेर मर्ने अवस्था, चीन र इटलीमा कति यस्ता हृदयबिदारक घटना भए जहाँ एउटै घरमा पति–पत्नी कैयन हप्ता अनलाइनमा रुँदै बिताउनु प¥यो र हस्पिटलको आइस्युलेशन बेड नमिल्दा कतिले घरमै मृत्युसंग सामाना गर्नु प¥यो । सेना लगाएर समेत शवको व्यवस्थापनको चुनौती मोल्नुपर्ने, र पुनः उपचारमा लागिरहनु पर्ने र लकडाउनमा परेका बाँकी मान्छेहरुको आधारभुत आवश्यकता गास, बास, कपास एबं बाँकीलाई रोगको संक्रमणबाट कसरी जोगाउने भन्नेतर्फ लाग्नुपर्ने सम्म स्थिती भएमा नेपालले त्यसको सामना कसरी गर्ने ? जवकी अहिले इटलीले शवहरुको व्यवस्थापनमा सुरक्षाकर्मी समेत परिचालन गरिरहेको र अकल्पनिय घटनाबाट गुज्रदै छ । लामो समय लकडाउन हुँदा वित्तीय संस्थाहरु एकातिर बन्द हुँदै जाने र अर्कोतिर सामान्य जनताले वित्तीय संस्था वा बैङ्कहरुको ऋण तिर्न नसक्ने त्यस्तो अवस्थामा बैङ्कले चर्को रुपमा ढाड सेक्ने अवस्थाबाट नागरिकहरुलाई पलायन हुन र गम्भीर रुपमा बिचलित हुने स्थिती सम्म पैदा भएमा त्यो अवस्थालाई नियन्त्रणमा कसरी लिने ? भाडामा कोठामा बस्ने डाक्टरहरुलाई निकाल्ने देखी अन्य कोठामा बसेका सर्बसाधारणलाई सहज रुपले उनिहरुलाई कोठा भाडामा बस्ने र भाडा मिनाहा गर्ने प्याकेज सरकारले निर्माण गर्न जरुरी छ । अहिले जति पनि बाहिर चर्चा भए पनि मुख्य कुरा सप्लाई, डिमान्ड, पब्लीक कन्फिडेन्ट र सोशियल अर्डर कसरी पैदा गर्ने भन्ने मुख्य कुरामा सरकारले ध्यान पुरर्‍याउन जरुरी छ ।

५) अर्को बिरामीको वास्तविक रुपमा संख्या बढ्दै गएमा मापदण्ड अनुसारको सरकारसंग आइसोलेशन बेडको अवस्था उपलब्ध हुन सक्छ कि सक्दैन यो मुख्य कुरा हो । वास्तविक आइस्युलेशनको सरकारले गरेको तयारी खै ? महामारी प्रकोपकै रुपमा फैलिन पुग्यो भने डाक्टरले समेत हात छिराएर स्वाव लिने व्यवस्था गर्नुपर्छ । आइस्युलेशन भन्नाले बिरामीलाई सकारात्मक प्रभाव पर्ने हावाको चाप, एक नियन्त्रित क्षेत्र जहाँ आपुर्ती, उपकरणसहितको र बिरामी व्यक्तीलाई आसपासको क्षेत्रमा कुनै पनि प्रदुशनको नकारात्मक प्रभाव नरहने कोठामा क्लिनिकल हेण्डवास बेसीन, ऐटेज ट्वाइलेट बाथरुम र अटोमेटिक एण्ड सेल्फ कोलोजिङ डोर भएको, सय प्रसेन्ट बाहिर एअर भेन्टीलेशन भएको एबं सबै जाँचहरु विरामी भन्दा बाहिरबाटै गर्न सक्ने, बिरामीको संक्रमण अरुमा नपर्ने र बाहिरको संक्रमण भित्र बिरामी सम्म नपुग्ने भन्ने सम्झनु पर्छ । तर लाजै नमानी यहाँ यति टेण्ट उहाँ यति टेण्ट निर्माण गरियो भन्नेमा तिनै तहका सरकार प्रतिस्पर्धामा सस्तो प्रचारमा लाग्नु दुःखद् कुरा हो । यो त केवल सेल्फ क्वारेन्टाइन हो नि त्यो त घरमै नागरिकले गरिहाल्छन् नि, कुरो त संक्रमणपछिको अवस्थालाई कसरी हेण्डलिङ गर्ने ? भन्ने हो । ठूलो हावा लाग्यो भने हावाले सजिलै उडाउने खालका टेन्ट निर्माण गरेका भरमा सरकारले सफलता देख्यो भने स्थिती गम्भीर हुन सक्छ । अब योभन्दा अघि बढेर पुर्ण रुपमा सुरक्षित आइस्युलेशन, पर्सनल प्रोटेक्टिभ इकुपमेन्ट (पीपीई), पीसीआर टेष्ट किट, भीटीएम, मास्क, पंन्जा, ल्यावसहित एम्बुलेन्सको तत्काल सरकारले व्यवस्था गर्नेतिर लाग्नु पर्छ । यसको जाँच रियलटाइम पीसीआरबाट गरिने भएकोले यसको व्यवस्था कम्तीमा ७ प्रदेशको एक एक ठाउँमा युद्धस्तरमा संघ सरकारले निर्माण गर्न जरुरी छ । यसको लागी प्रदेश सरकार सक्रियताका साथ केन्द्रसंग संयोजन गरी यसको उपलब्धता तत्काल मिलाउने गरी लाग्न जरुरी छ । यो रोग परीक्षणको लागी विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उच्च वायो सेफ्टीसहितको बिएसएल थ्रीस्तरको प्रयोगशाला चाहिन्छ ।

६) हामीले वृद्धि गर्नु पर्ने भनेको संक्रमण जाँच्ने सेन्टरहरुको विकास गर्ने कुरा हो । हाल सम्म काठमाण्डौंमा मात्र त्यो पनि टेकुबाट मात्र यो सेवा उपलब्ध भइरहेको छ । साँच्चि नै विरामी बढ्दै जाने स्थिती हुँदा जाँच गर्ने ठाउँको प्रयाप्त उपलब्धता नहुँदा ठुलो संकट आउने देखिन्छ । त्यसै पनि अब मलेरिया, टाइफाइड, डेङ्गो, झाडापखाला लगायतका रोगहरु आउदो गर्मी र वर्षा याममा संक्रमण हुँदै जान्छ भने अर्कोतिर कोरोना भाइरस र अन्य यी माथिका संक्रमन हुने रोगहरुको लक्षणसमेत सुरु सुरुमा उस्तै हुन्छ । त्यसलाई सुरुमा नै परिक्षण गरी विरामी र निरोगी व्यक्तिहरुलाई अलग गर्ने कि नगर्ने ? यसकारण यसको लागी संका लागेका विरामीलाई तत्काल जाँच्ने र विरामीहरुको स्तरीकरण गर्दै जांने वातावरण बनाउनु पर्छ । धेरै अहिले सकिदैन भने पनि कम्तीमा ७ वटै प्रदेशमा एक एक परीक्षण सेन्टर निर्माण गरिनु पर्छ र यहाँबाट काठमाण्डौं पु¥यायर परीक्षण गर्ने र छिटो रिपोर्ट आउने व्यवस्था गर्नु पर्छ । चाइनामा दिनमा दश हजार संक्रमण जांच्ने सुबिधा कायम गरिएको थियो भने दक्षिण कोरियाले छोटै समयमा २ लाख ७० हजार परीक्षण लिन सफल भयो । अरु देशहरुले पनि यही स्प्रीटमा परीक्षणको प्रक्रियालाई अघी बढाइरहेको छन् । यसो हुँदा बेलैमा विरामीबाट स्वस्थ ब्यक्ति र बिरामीवाट स्वस्थ परिवारलाई अलग गर्ने वातावरण मिलाउन जरुरी छ । यही प्रक्रियाले चाइना र कोरियाले स्थितीलाई बेलैमा नियन्त्रण गर्न पुग्यो आज वुहानलगायत धेरै ठाउँमा लकडाउनलाई हटाउने तयारीमा चाइना पुगिसकेको छ । नेपालमा २ महिनामा जम्मा ६ सय जाँच हुन्छ यो लाजमर्दो स्थिती हो । यो नदेखिएर आगो जस्तै सल्कने विमार भएकोले कम्तीमा विदेशबाट आएका, सुरुवाती सिन्ट्रम देखा परेका र बढी संक्रमण हुनसक्ने बुढापाका र जवान नै भए पनि विभिन्न रोगबाट संक्रमित, दिर्घरोगी र रोगको प्रतिरोध क्षमता कम भएका बिरामीहरुको तत्काल जांचको प्रक्रिया सुरु गर्न जरुरी छ । सीमानाबाट भित्रीएका मान्छेहरुको तथ्याङ्क लिने र तिनीहरुको अभिलेख लिने, क्वारेन्टाइनमा राख्ने र संक्रमण भए नभएको चेक जाँच गर्ने विधी सरकारले अबिलम्व संचालन गर्नु पर्छ । कर्णालीका चिकित्सकहरुले दिएको औपचारिक विज्ञप्तीले समेत यो कुराको राम्रै संकेत गरेको छ कि संक्रमण फैलीने नै भयो भने हाम्रो पहुँचमा हुने छैन भन्ने कुराले ।

७) चाइनाले लकडाउन गर्‍यो तर उसले अनलाइनमार्फत पब्लिकलाई चाहिएको सामग्री घर घरमै उपलब्ध गरायो । अनि मात्रै त्यहाँ लकडाउन सफल भयो । यही कुरा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले चरणबद्ध लकडाउन गर्ने गरी जनतालाई छोडिदिएका छन् । लकडाउन गर्नु भन्दा पहिले मैले मेरा गरिव जनतालाई भोकै मर्छन् कि भन्ने सम्झे भन्ने उनको हृदयबिदारक भनाईलाई शासन गरिरहेका व्यक्तिहरुले सोच्न जरुरी छ । अर्कोतर्फ इन्डियाबाट करिव १० लाख मान्छेहरु नेपालमा भित्रिसकेका छन् । तिनीहरु कहाँ छन् कुन हालतमा छन् ? भन्ने सरकारसंग पुर्ण रुपमा अभिलेख छैन यतिमात्र होइन विदेशबाट दिनानुदिन भित्रिने आफ्ना नागरिकहरुलाई कसरी बचाउने र उनिहरुलाई स्वयंम् संक्रमणबाट कसरी बचाउने र समाजमा अन्य ब्यक्तिहरुलाई उनिहरुबाट संक्रमण नहोस् भन्नेतर्फ सरकारको ध्यान गएको देखिदैन ।

८) “रोम जलिरहको छ बांसुरी बजिरहेको छ” भने जस्तै राज्यका भीभीआइपी र भीआइपीहरुले बोलेको कुरा सुन्दा अचम्म लाग्छ यति किताव पढ्छु, यस्तो खेल खेल्छु भनेर अन्र्तवार्ता दिएका दियै छन् । यो अवस्थामा सरकार र देशका भीभीआइपीहरु खेल खेलेर वा किताव पढेर होइन यस्तो ब्यबस्था मिलाउन सरकार र संबन्धीत पक्षको ध्यानाकर्षण गर्ने र आवश्यक परे नेतृत्वदायी भुमीका निर्बाह गर्ने तिर लाग्नु पर्छ । इटलीका प्रधानमन्त्रीले भने विश्वयुद्धमा इटलीलाई बचाउन जनताले बलिदान गरे भने यो युद्धमा इटालीले जनतालाई बचाउन आवश्यक परे बलिदानको कोटा समेत चुक्ता गर्ने छ । अर्कोतिर रोगको संक्रमण फैलीरहको वुहान शहरमा चिनका राष्ट्रपति आफै मास्क लाएर मैदानमा खटेका थिए भने इटालीका प्रधानमन्त्री रुदै र भावविहोल हुदै बिरामीको व्यवस्थापनमा अहोरात्र खटिएका छन् । त्यसकारण हरेक तहको सरकारले केवल विज्ञप्ती निकाल्ने वा यसो गर र उसो गर मात्र भन्नेतिर मात्र सिमीत नरही अन्दस्पोर्ट युद्धस्तरमा लाग्न जरुरी छ । अर्कोतिर हामी सबै देशवासीले पनि अरु तपसीलका कुराहरु परे पछि व्यहोरौलाँ त्यतातिर धेरै तनाव नलिउँ तर यसबाट बच्ने एउटै मुख्य शुत्र रोग लाग्नु भन्दा रोगको बाटै छेक्नु भने जस्तै कोरोना एनिकी (कोही रोडमा नआउने) फर्मुलालाई अनुशासन पूर्वक लागू गर्नुपर्दछ । यसको प्रमुख सावधानी भनेकै घरबाट सक्भर ननिस्कने र निस्कन परिहालेमा एक आपसको दुरी कायम गर्ने हो ।

धन्यवाद

(लेखक विष्ट कर्णाली प्रदेशसभामा सुर्खेत निर्वाचन क्षेत्र नम्वर १ (क) बाट सदस्य हुनुहुन्छ ।)