कोरोनाको सतर्कताः दैलेख र सल्यानमा बाहिबाट भित्रिएकाको तथ्याङ्क संकलन

सुर्खेत, १४ चैत (जागरण) । दैलेखका सबै स्थानीयतहले कोरोना भाइरसबाट बच्न र बचाउन उच्च सतर्कता अपनाएका छन् । अहिले शहरभन्दा गाउँमा धेरै त्रास फैलिएकाले स्थानिय तहहरुले ‘क्वारेन्टाईन’ स्थापनादेखि सचेतना तथा देशबाहिरबाट गाउँ पसेकाहरुको तथ्याङ्क संकलनको कामसमेत गरिएका हुन् ।

जिल्लाको आठबीस नगरपालिका र गुराँस गाउँपालिकाले आफ्नो पालिका भित्र भारत र अन्य मुलकबाट आएका व्यक्तिहरुलाई आफ्नो घरमै बस्न आग्रह गर्दै नगरपालिकाका सबै वडाहरुमा ‘माईकिङ्’ गर्न थालेको छन् ।

विदेशिएका युवा सुदुरपश्चिमतर्फबाट कर्णाली पदमार्ग हुँदै ठूलो संख्यामा नगरपालिकामा भित्रिएको सुचना पाइएपछि आजदेखि टोल–टोलमा ‘माईकिङ्’ गर्न लागिएको आठविस नगरपालिकाले जनाएको छ ।

उनीहरूमा कोरोना संक्रमण हुन सक्ने भन्दै गाउँ–गाउँमा त्रास फैलिएपछि उनीहरुलाई घरमै बस्न र लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्न ‘माईकिङ्’ गर्न लागिएको आठबीस नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायले बताउनुभयो । उहाँका अनुसार उनीहरुलाई घरमै बस्न आग्रह गरिएको छ ।

गुराँस गाउँपालिकाले पनि विदेशबाट आएका नागरिकको स्वयमसेविका परिचालन गरी लगत संकलन सुरु गरेको छ । गाउँपालिकाका अध्यक्ष खेमराज ओलीकाअनुसार गुराँसले कोरोनाको लक्षण देखा परेको भेटिएमा क्वारेन्टाइनसम्म निःशुल्क एम्बुलेन्सको समेत व्यवस्था गरिएको छ ।

ठाटीकाँध गाउँपालिकामा पनि आज देखि माईकिङ् गर्न लागिएको गाउँपालिकाले बताएको छ । अन्य मुलुकबाट आएका व्यक्तिहरुको अन्तिम पहिचान भइरहेको र ती व्यक्तिहरुलाई विभिन्न ठाउँमा बनाइएका क्यारेन्टाइनमा राख्ने तयारी भएको दैलेखका प्रहरी प्रमुख (डिएसपी) हरिबहादुर ओलीले जानकारी दिनुभयो ।

दुल्लु नगरपालिकाको दुल्लु अस्पताल, नौमुले गाउँपालिका र गुराँस गाउँपालिकामा पनि ‘हेल्थ डेस्क’ स्थापना गरी चेकजाँच गर्ने गरिएको छ । दैलेखका विभिन्न ठाउँहरुमा क्वारेन्टाइन स्थापना पनि गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखले बताएको छ । जिल्ला अस्पताल दैलेखमा १५ शैया दुल्लू नगरपालिकामा ५ शैया, महाबु गाउँपालिका ५ शैया र भगवतीमाई गाउँपालिकामा ५ शैयाका आइसोलेसन वेड तयार पारिएको छ ।

सदरमुकामका रहेको नारायण क्याम्पसमा १ सय शैयाको क्वारेन्टाइन स्थापना गर्न लागिएको छ भने आवश्यक परेको खण्डका सरस्वती माध्यमिक विद्यालय तर्ताङ्लाई पनि छुट्याईएको उहाँले जानकारी दिनुभयो ।

सल्यानमा विदेशबाट आएका व्यक्तिहरूको तथ्यांक संलकन सुरु गरिएको छ । विश्वका विभिन्न देशमा रही फर्किएकाहरूको तथ्यांक संकलन गर्न थालिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

सल्यानका १० वटै स्थानीय तहसँग समन्वय गरेर प्रत्येक वडामा विदेशबाट आएका व्यक्तिको नाम संकलन गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो ।

विदेशबाट फर्किएका व्यक्तिको विवरण अद्यावधिक गरी आवश्यक रेखदेख तथा निगरानी गरिने उहाँको भनाई छ । विदेशबाट आएका कुनै व्यक्तिमा कोरोनाको लक्षण देखिएमा क्वारेनटाइनमा राख्न पनि यस प्रकारको तथ्याङ्कले मद्दत पुग्ने उहाँले बताउनुभयो ।

सल्यानबाट भारतमा बढी मात्रामा मानिस जाने भएकाले ती व्यक्तिमा कोरोनाको संक्रमण बढी हुन सक्ने भएकाले सुरक्षित तरिकाले घरमै बस्न उहाँले आग्रह गर्नुभएको छ ।