सुर्खेत, १४ चैत (जागरण) । कर्णाली प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीले कोरोना भाइरस फैलिन नदिन आफ्नो आफ्नो क्षेत्रबाट क्रियाशिल हुन आग्रह गरेका छन् ।
प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनी र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एकै दिन सन्देश जारी गर्दै कोरोना भाइरस फैलिन नदिन सबै पक्षलाई आफ्नो–आफ्नो ठाउँबाट क्रियाशील हुन आग्रह गर्नुभएको हो ।
एक सन्देश जारी गर्दै प्रदेश प्रमुख कलौनीले विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट आफू र समाजलाई जोगाउन सबै पक्ष क्रियाशील हुनपर्ने बताउनुभयो । नेपाल सरकारले गरेको लकडाउनको पूर्ण रूपमा पालना गर्न कर्णालीका नागरिकलाई प्रदेश प्रमुख कलौनीले आग्रह गर्नुभएको छ ।
कोरोना सङ्क्रमित देशहरुबाट फर्किनुभएका नागरिकहरुले कम्तिमा १४ दिन छुट्टै (क्वारेन्टाइनमा) बसेर सहयोग पुर्याउन, सबै नागरिकले सरसफाईमा ध्यान दिन र कोरोनाको आशंका भएमा तुरुन्तै नजीकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न प्रमुख कलौनिले अनुरोध गर्नुभएको छ ।
अहिले विश्व स्वास्थ्य सङ्गठन, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुबाट जारी गरिएका उपायहरु, निर्देशन र आचारसंहिताको पालना गर्नुपर्ने बताउनुभयो ।
उहाँले उपचारमा खटिनुभएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, तिनै तहका सरकारका जनप्रतिनिधि, कर्मचारीहरु, सामाजिक संघ संस्था, उद्योगी व्यवसायीलगायत सबैले उच्च मनोबलका साथ सहयोग गर्नुपर्ने बताउनुभएको छ ।
सम्बोधनका क्रममा मुख्यमन्त्री शाहीले प्रदेश सरकारले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा सहयोग गर्न जनप्रतिनिधि, कर्मचारी र उद्योगीहरुलाई पनि आग्रह गर्नुभएको छ ।
कर्णालीमा कोरोना भित्रिन नदिन सरकार प्रतिबद्ध रहेको भन्दै उहाँले चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई धैर्य गर्न आग्रह गर्नुभयो । लकडाउन र संकटको अवस्थामा आवश्यक दैनिक उपभोग्य सामग्री सहज रुपमा उपलब्ध गराउन उहाँले निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ ।