कर्णालीको विपत् व्यवस्थापन कोषमा सहयोग थपिँदै

सुर्खेत, १५ चैत (जागरण) । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न कर्णाली सरकारले स्थापना गरेको प्रदेश विपद् व्यवस्थापन कोषमा सहयोग रकम थपिन थालेको छ ।

सिद्धार्थ बैंक लिमिटेड शाखा सुर्खेतका प्रबन्धक रञ्जन कोइरालाले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई आज दश लाखको चेक हस्तान्तरण गर्नुभएको हो । सिद्धार्थ बैंकले कोरोना प्रतिकार्यमा सहयोग पुर्याउन नेपालका सातै प्रदेशका सरकारलाई १० लाखका दरले चेक हस्तान्तरण गरेको छ ।

त्यस्तै, नौमुले गाउँपालिका ३ द्वारी दैलेख निवासी पदमबहादुर विश्वकर्माले व्यक्तिगत रुपमा आजै मुख्यमन्त्री शाहीलाई ५१ हजारको चेक हस्तान्तरण गर्नुभएको छ । बैंक तथा दैलेख निवासी विश्वकर्माले हस्तान्तरण गरेको चेक ग्रहण गर्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा राम्रो कामको शुरुवात भएको बताउनुभयो ।

बैंकका सुर्खेत शाखा प्रबन्धक कोइरालाले विश्वव्यापी महामारीका रुपमा फैलिएको ‘कोभिड–१९’ प्रतिकार्यका निम्ति प्रदेश सरकारले स्थापना गरेको कोषबाट नागरिकहरुलाई कोरोना संक्रमणको रोकथाममा सहयोग पुगोस् भन्ने ध्येयले सहयोग गरिएको जानकारी दिनुभयो ।