सुर्खेत, १५ चैत (जागरण) । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा निर्माण भएको चार सय जना क्षमताको क्वारेन्टाइन प्रयोग गर्न थालिएको छ । नेपाली सेनाको सहयोगमा निर्माण भएको क्वारेन्टाइनको निर्माण सम्पन्न भएसँगै १ सय २६ जनामध्ये १ सय २५ जनालाई त्यहाँ सारिएको छ ।
एक जनामा भने उच्च ज्वरो रहेकाले आइसुलेशनभित्रै डाक्टरको निगरानीमा राखिएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतननिधी वाग्लेले जागरणलाई बताउनुभयो ।
उच्च ज्वरो भएका व्यक्तीको खकार परिक्षणका लागि काठमाण्डौँ पठाइसकिएको छ । त्यसको रिपोर्ट केही समयमा आउने स्वास्थ्यकर्मीको भनाई छ । यसअघि वीरेन्द्रनगरका विद्यालय, होटल र छात्राबासमा राखिएका भारतबाट आएका नागरिकलाई नेपाली सेनाले निर्माण गरेको क्वारेन्टाइनमा सारिएको हो ।
नेपाली सेनाको उत्तरपश्चिम पृतनाका प्रमुख सेनानी झुलेन्द्रविक्रम बस्नेतले चार सय टेन्ट राखिएको बताउनुभयो । खुल्लामञ्चमा बनाइएको क्वारेन्टाइनलाई तीन खण्डमा बाँडिएको छ ।
खण्ड ‘क’ मा एक सय ५, खण्ड ‘ख’ मा एक सय ५ र खण्ड ‘ग’ मा एक सय ९० जनाका लागि टेन्ट तयार गरिएको छ ।