सुर्खेत, १६ चैत (जागरण) । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ अर्थात् नोबेल कोरोना भाईरसको उच्च सतर्कता अपनाउनका लागि कर्णाली प्रदेशभर गरी २ हजार भन्दा बढी बेडका क्वारेन्टाइन बनाइएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार १० ओटै जिल्लाका विभिन्न ठाउँमा गरी दुई हजार २८ बेडका क्वारेन्टाइन स्थापना गरिएको हो ।
मन्त्रालयकाअनुसार दैलेखमा २ सय २७, कालिकोटमा ६ सय ६, सुर्खेतमा ४ सय ७१, सल्यानमा १ सय ८, रुकुमपश्चिममा ३६, जाजरकोटमा ९०, हुम्लामा ६२ बेडको क्वारेन्टाइन स्थापना गरिएको सामाजिक विकास मन्त्री दल रावलले बताउनुभयो ।
यस्तै डोल्पामा १२, मुगुमा १ सय ३६ र जुम्लामा २ सय ८० बेड क्षमताको क्वारेन्टाइन स्थापना गरिएको हो । दैलेखमा २७ र रुकुम पश्चिममा ५ गरी ३२ बेडको आईसोलेसन कक्ष पनि स्थापना गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्री रावलकाअनुसार हालसम्म भारतलगायत अन्य मुलुक देखि कर्णालीमा ८ हजार ६ सय ५० जना भित्रिएका छन् र उनीहरुलाई विभिन्न क्वारेन्टाइनहरुमा राखिएको छ ।
आजमात्रै पनि भारतदेखि घर फर्किएका दैलेखका ६० जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारतमा कोरोनाको सन्त्रास फैलिएपछि घर फर्किएका उनीहरुलाई नेपाली सेना र प्रदेश सरकारको रोहबरमा वीरेन्द्रनगरको होटेल अशोकमा रहेको अन्तरिम क्वारेन्टाइनमा राखिएको हो ।
६० जना मध्ये प्रायः चामुण्डाबिन्द्रासैनी नगरपालिका र गुराँस गाउँपालिकाका रहेका जनस्वास्थ्य कार्यालय सुर्खेतका वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतननिधी वाग्लेले जानकारी दिनुभयो । उनिहरुको सवैको सबैको स्वास्थ्य परिक्षण गरिएको वाग्लेको भनाई छ ।
उनीहरुको स्वास्थ्यमा कोरोनासँग सम्वन्धित कुनै प्रकारको लक्षण नभेटिएमा सम्बन्धीत पालिकामा पठाइदिने भनिएपनि त्यहाँ व्यवस्थापन राम्रो नभएकाले उनीहरुलाई सुर्खेतमै व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।