सुर्खेत, १७ चैत (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले विभिन्न संस्थाका नाममा मनलाग्दी तरिकाले राहत सामग्री वितरण गर्न रोक लगाएको छ ।
नगरपालिकाका कार्यवाहक नगर प्रमुख मोहनमाया ढकाल र प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा नगर क्षेत्रभित्र अनुमतिविना राहत रकम र सामग्री वितरण गर्न नपाइने उल्लेख छ ।
विभिन्न बस्तीमा राहत एवं सुरक्षा सामग्री वितरण गराउने तथा प्रचारप्रसारका कार्यहरू गर्ने गरेको गुनासो नगरपालिकामा प्राप्त भएकाले आफू खुशी काम गर्दा संक्रमण व्यवस्थापनमा दोहोरोपना आउने, कोरोना संक्रमण झनै फैलिने जोखिम भएको र ती कार्यहरू र काम लक्षित वर्गसम्म प्रभावकारी नहुने देखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्राप्त सहयोगलाई नगरपालिकाले आवश्यकताको आधारमा वितरण गर्ने र दाताको विवरण सार्वजनिक गरिने विज्ञप्तिमा उल्लेख छ । नगरपालिकाको अनुमतिविना वितरण लगायतका गतिविधि भएको खण्डमा सम्बन्धित व्यक्ति, संघसंस्थालाई त्यस कार्य गर्नबाट रोकेर नियमानुसार कारवाही गरी सहयोग गरिदिन स्थानीय प्रशासनलाई आग्रह गरिएको छ ।