सुर्खेत, १७ चैत (जागरण) । कर्णाली प्रदेशमा हालसम्म नमूना परीक्षण गरिएका सबैमा कोरोना भाइरसको संक्रमण नभएको पाइएको छ ।
कोरोना भाइरसको संक्रमण भएको आशंकामा कर्णालीबाट १७ जनाको नमूना काठमाडौं पठाइएकोमा सवै जनाको रिपोर्ट नेगेटिभ देखिएको हो ।
कोरोनाको संक्रमण फैलिएको भारतलगायत अन्य देशबाट फर्किएकाहरुमा संक्रमणको आशंका गरिएको थियो । प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले हालसम्म नमूना परीक्षण गरिएका कर्णालीका १७ जनामै कोरोना संक्रमण नदेखिएको रिपोर्ट आएको बताउनुभयो ।
कर्णालीबाट कोरोना परीक्षणका लागि नमूना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौंमा पठाइएको थियो । हालसम्म नमूना परीक्षण गरिएको सबैको रिपोर्ट नेगेटिभ आएको भन्दै मन्त्री राववले यो कर्णालीका लागि सुखद् कुरा भएको बताउनुभयो ।
जुम्लाबाट तीन र सल्यानबाट पाँच जनाको नमूना संकलन भएकोले परीक्षणका लागि थप नमूना काठमाडौं पठाउन लागिएको छ । संकलन भएको आठ जनाको नमूना भोली काठमाडौं पठाउने तयारी भएको छ ।
कर्णालीमा कोरोना रोकथामका लागि अभियान जारी छ । हाल कर्णाली प्रदेशका विभिन्न ठाउँमा गरी करिव तीन सय जना नागरिक क्वारेन्टाइनमा बसेका छन् ।
अहिलेसम्म सबैभन्दा बढी सुर्खेतमा एक सय ८६ जना, कालिकोटमा ५१, डोल्पामा ८५ जना र जुम्लामा ३९ जना क्वारेन्टाइनमा रहेका छन् । घरमै होम क्वारेन्टाइनमा बसेकाहरुको भने गन्ती भएको छैन ।