विपद् न्यूनीकरणका लागि नेपाललाई विश्व बैँकको ६ अर्ब ऋण

काठमाण्डौँ, १८ चैत (जागरण) । प्राकृतिक प्रकोप तथा स्वास्थ्यसम्बन्धी विपद् न्यूनीकरण गर्न नेपाल सरकारलाई विश्व बैंकले ६ अर्ब रुपैयाँ अर्थात् ५० मिलियन अमेरिकी डलर बराबरको ऋण सहयोग गरेको छ।

कोरोना रोकथाम तथा नियन्त्रणका साथै आफ्नो क्षमता विकासमा समेत यो रकम प्रयोग गर्न सकिने अर्थ मन्त्रालयले जानकारी दिएको छ । तीन वर्षका लागि विश्व बैंकले दिने यो सहुलियत ऋण हो । तीन वर्षको अवधिसम्म खर्च नभएमा बाँकी ३ वर्ष अवधि थप्न सकिन्छ ।

यसअघि कोरोना महामारीसँग जुध्न विश्व बैंकले २९ मिलियन अमेरिकी डलर अर्थात् ३ अर्ब ४३ करोड रुपैयाँ ऋण सहायता घोषणा गरिसकेको छ । यो सँगै कोरोना महामारीका लागि विश्व बैंकको सहयोग ९ अर्ब ४३ करोड पुगेको छ ।