सुर्खेत, १८ चैत (जागरण) । सरकारले कर्णाली प्रदेशका जिल्लाहरुमा औषधी र स्वास्थ्य उपकरण वितरण शुरु गरेको छ । संघिय सरकारबाट प्रदेश सरकारलाई हस्तातरण गरिएका सामग्री जिल्लामा वितरण गर्न शुरु भएको हो ।
सवै जिल्लामा पुर्याइने औषधी र स्वास्थ्य उपकरण सबैभन्दा पहिला डोल्पा अस्पतालमा प्रदान गरी वितरणको शुरुवात गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावल औषधी र स्वास्थ्य उपकरण लिएर नेपाली सेनाको हेलिकोप्टरमार्फत अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो ।
डोल्पाबाट वितरण शुरु भएको र अव सवै जिल्लामा औषधी र स्वास्थ्य सामग्री पुर्याइने कर्णाली प्रदेश सरकारले जनाएको छ । हस्तान्तरणको क्रममा मुख्यमन्त्री शाही र सामाजिक विकास मन्त्री रावलले आइसोलेसनको राम्रो ब्यवस्था गर्न निर्देशन पनि दिएका छन् ।
घर भाडामा लिएर भए पनि आइसोलेसन ब्यवस्थित बनाउन मुख्यमन्त्री शाहीले निर्देशन दिनुभयो । हेलिकोप्टरमा लिएको सर्जिकल मास्क २ हजार थान, पिपीई ६० थान, पञ्जा एक हजार थान लगायतका स्वास्थ्य सामग्री जिल्ला अस्पताल पुगेको स्वास्थ्य सेवा कार्यालयका सुचना अधिकारी देवबहादुर बिसीले जानकारी दिनुभयो ।